June 24, 2025, Tuesday
२०८२ असार १०
1:37:26 pm

प्रदेश–१ मा एमाले संसदीय दलको वैठक बस्दै, भीम आचार्यलाई मुख्यमन्त्री बनाउने तयारी

4.8K

मोरङ –  नेकपा एमाले विभाजनको असर देशका सबै प्रदेशमा देखिन थालेको छ । एमालेका दोस्रो तहका १० नेता एमालेमा फर्किएपछि प्रदेश–१ को सरकार पनि फेरिने भएको छ । वरिष्ठ नेता माधवकुमार नेपालले एमाले फुटाएर नेकपा (एकीकृत समाजवादी) पार्टी बनाएको भोलिपल्ट प्रदेश–१ मा शेरधन राईले करिब साढे तीन वर्ष लामो सत्ता यात्रा टुंगाउन लागेका हुन् ।

राईले आफ्नो सत्ता यात्रालाई टुंगोमा पुर्‍याउन आज (बिहीबार) बिहान एमाले प्रदेश–१ संसदीय दलको बैठक बोलाएका छन् । बिहीवार नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बस्नुअघि नै प्रदेशमा संसदीय दलको बैठक बसेर दल नेता परिवर्तन गर्ने योजना एमालेमा छ । बिहीबार संसदीय दलको बैठकका लागि ठीक पर्नु भन्ने जानकारी प्रदेशका एमालेका सांसदलाई नेतृत्वले दिइसकेको छ ।

एमालेका एक सांसदले भने, ‘आज ठीक परेर बस्नु भन्ने खबर आएको छ, हुने नहुने (संसदीय दलको बैठक) टुङ्गो छैन ।’ काठमाडौंमा केन्द्रीय कमिटी बैठक समेत रहेकाले त्यस अगाडि पार्टीको द्वन्द्व सकिएको सन्देश दिन बिहीबार नै मुख्यमन्त्रीमा भीम आचार्य आउन सक्ने चर्चा प्रदेश–१ मा भइरहेको छ । ‘आज (बिहीबार) केन्द्रीय कमिटीको समेत बैठक छ, अब त्यो बैठक अगाडि नै पनि दलको नेता परिवर्तन गरेर एउटा सन्देश जान सक्छ’, प्रदेश–१ स्थित एक एमाले नेताले भने ।

Advertisement

उक्त बैठकमा मुख्यमन्त्री राईले प्रदेश–१ एमाले संसदीय दलको नेताबाट राजीनामा दिने भएका छन् । त्यही बैठकबाट यसअघि मुख्यमन्त्रीका लागि प्रतिस्पर्धा गरेका आचार्यलाई दलको नेता बनाइँदैछ । राईले मुख्यमन्त्रीबाट राजीनामा दिएपछि बिहीबार नै आचार्य मुख्यमन्त्री बन्न लागेका हुन् । आचार्यलाई मुख्यमन्त्री बनाएर सत्ता हस्तान्तरण गर्नेबारेमा राई अहिले काठमाडौंमा एमाले शीर्ष नेतृत्वसँग छलफलमा छन् ।

अहिले काठमाडौंमा रहेका राई बिहीबार बिहानै बिराटनगर जाने कार्यक्रम छ । त्यहाँ पुगेर उनले आचार्यलाई सत्ताको बागडोर सुम्पिने तयारी गरेका छन् । राई एमाले अध्यक्ष केपी शर्मा ओलीनिकट मानिन्छन्। उता आचार्य वरिष्ठ नेता झलनाथ खनालनिकट हुन् । खनाल दिल्ली जानु अघिसम्म उनी नेपाल–खनाल समूहमै थिए ।

तर पछिल्लो समय नेपालले पार्टी फुटाउने कुरामा असहमति राख्दै आचार्य एमालेमै बसेका थिए । एमालेको नवौँ महाधिवेशनबाट सचिवमा निर्वाचित आचार्य प्रदेश–१ को मुख्यमन्त्रीका लागि एमाले दलको नेता चयनका क्रममा राईसँगै पराजित भएका थिए ।

प्रदेश–१ मा एमालेका ५१ सांसद छन् । जसमा ६ देखि ७ जना सांसदहरु नेपाल नेतृत्वको नेकपा समाजवादीमा जान तम्तयार रहेका बताइन्छ । यद्यपि नेपाल पक्षले भने कम्तीमा १३ सांसद आफ्नो पक्षमा खुल्ने बताउँदै आएको छ । ५१ सांसदमध्ये अहिलेसम्म ४ जना नेपालको नेकपा समाजवादीमा खुलिसकेका छन्। प्रदेश सांसदहरु राजन राई, राजेन्द्र राई र गणेश काङमाङ नेपालको नयाँ पार्टीका केन्द्रीय सदस्य भइसकेका छन् ।

इलामकी खिनु लङ्ग्वा झलनाथ खनाल जता जान्छन् आफू त्यतै जाने भनेर बसेकी छन् । झलनाथ अहिले नेपालकै नेकपा एकीकृत समाजवादीमा खुलिसकेको अवस्था छ । त्यस्तै महेश रेग्मी, जीवन घिमिरे राजकुमार ओझाको पनि आचार्यलाई साथ मिल्ने सम्भावना कमजोर रहेको छ । २०७४ को स्थानीय चुनावका समयमा आचार्यसँग चन्दाको मामिलामा ओझाको विवाद भएको थियो । अहिले उनी प्रदेशमा वनराज्य मन्त्री छन् ।