काठमाडौं–उदयपुरको कटारी नगरपालिका–८ स्थित सौर्य सिमेन्ट उद्योगको खानी क्षेत्रमा बम विस्फोट हुँदा ४ मजदूर घाइते भएका छन्। खानीमा बिहीबार राति सवा १२ बजे चारपटक विस्फोट भएको जनाइएको छ।
घाइते हुनेमा कटारी नगरपालिका–८ का २४ वर्षीय विष्णुबहादुर मगर, वडा नम्बर ७ का २३ वर्षीय नवीन मगर, उदयपुरगढी गाउँपालिका–२ का दुर्गा तामाङ र मकवानपुरका ३० वर्षीय सागर मोक्तान छन्।
प्रहरीका अनुसार घाइते सबैको अवस्था सामान्य छ। उनीहरू कटारी अस्पतालमा सामान्य उपचारपछि घर फर्किएका छन्। बम कसले राखेको भन्ने खुलिसकेको छैन। चारवटा बम एकैसाथ पड्किँदा मजदूरबीच भागाभाग भएको थियो। घटनास्थलमा शंकास्पद वस्तु अरू पनि देखिएपछि नेपाली सेनाको टोलीलाई खबर गरिएको छ।