संखुवासभा – कोरोना कहरका बीच संखुवासभा जिल्लामा लामो समयपछि विद्यालय खुल्न थालेका छन्। स्वास्थ्य सुरक्षाको मापदण्ड सम्बन्धीहरू पूर्ण पालन गर्दै नियमित रूपमा पठनपाठन सञ्चालन गरेका छन्।
स्वास्थ्य सुरक्षाको मापदण्ड सम्बन्धीहरू पूर्ण पालन गर्दै संखुवासभाका १० वटै स्थानीय तहका विद्यालयहरू खुल्न थालेको जिल्ला शिक्षा समन्वय इकाइ कार्यालयका सूचना अधिकारी एकराज थापाले जानकारी दिए।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सार्वजनिक गरेको विद्यालय सञ्चालनसम्बन्धी कार्यढाँचामा सङ्मणको जोखिम नभएको वा कम हुँदै गएको पालिकाले विद्यालयहरूसँगको समन्वयमा मात्र विद्यालय सञ्चालन गर्नुपर्ने उल्लेख छ। विद्यालय खोल्दा पर्याप्त मात्रामा पानी, हात धुने ठाउँ, साबुन र अरु सरसफाइका सामग्रीको व्यवस्था गर्नुपर्ने हुन्छ। संखुवासभामा ३२ हजार भन्दा बढी विद्यार्थी अध्ययनरत रहेका छन्।
सदरमुकाम खाँदबारीमा तिहारलगत्तै विद्यालयको पठन पाठन सुरु भएका छन्। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सार्वजनिक गरेको विद्यालय सञ्चालनसम्बन्धी कार्यढाँचाका आधारमा खाँदबारी नगर क्षेत्रका सबै विद्यालय सुचारु भएको नगर शिक्षा समितिका प्रमुख दिपकमणी घिमिरेले बताए।
लामो समय बन्द रहेका विद्यालयहरु नगर शिक्षा समितीको निर्णयपछि गत आइतबारबाट सुचारु भएको शिक्षा शाखा प्रमुख घिमिरेले जानकारी दिए। खुलेका विद्यालयहरुमा अनिर्वाय मास्क,सेनिटाइन र हात धुन साबुन पानीको ब्यवस्था गर्न सम्बन्धित विद्यालयलाई पत्राचार गरेको छौं,मापदण्ड पुगे-नपुगेको अनुगमन गर्न शिक्षा शाखा प्रमुख घिमिरेले बताए।
कार्यढाँचामा सरसफाइका सामग्रीको व्यवस्था गरी पर्याप्त प्रकाश र हावा आवतजावत गर्ने कक्षाकोठामा कक्षा सञ्चालन गर्न भनिएको छ। शिक्षक, विद्यालयका कर्मचारी, विद्यार्थी सबैले अनिवार्य मास्कको प्रयोग गर्नुपर्ने, भौतिक दूरी कायम गर्नुपर्ने, लगायतका व्यवस्था कार्य ढाँचामा उल्लेख छ। खाँदबारी नगरपालिकामा ४८ सरकारी र १६ सामुदायिक विद्यालय रहेका छन्।