काठमाडौं– सुदूरपश्चिम प्रदेश सभाको एमाले संसदीय दलको बैठक आज (बुधबार) बस्दै छ। यसअघि मंगलबार बस्ने भनिएको बैठक पार्टीको आन्तरिक विवादका कारण स्थगित भएको थियो।
बिहान साढे आठ बजेका लागि बोलाइएको बैठकमा प्रदेश सरकारलाई दिएको समर्थन फिर्ताको विषयमा छलफल हुने छ। सोमबार बसेको एमालेको स्थायी कमिटी बैठकले सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो।
यसअघि एमालेको दुई पक्षबीच सरकारलाई दिएको समर्थन फिर्ताको विषयमा सहमति हुन नसक्दा मंगलबारको बैठक स्थगित भएको थियो। सुदूरपश्चिम प्रदेशमा एमालेको माधव नेपाल पक्ष बलियो छ।
प्रदेश सरकारमा रहेका एमालेबाट प्रतिनिधित्व गर्ने तीन जना नै माधव पक्षका छन्। आन्तरिक मामिला तथा कानुन मन्त्री सम्हालेका प्रकाश शाह, सामाजिक विकासमन्त्री कृष्णराज सुवेदी र उद्योग, वन तथा वातावरणमन्त्री माया भट्ट माधव पक्षका सांसद हुन्। शाहले आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी पनि पाएका छन्।