November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

बागमती प्रदेशका १४ एमाले सांसदले बुझाए स्पष्टीकरण

3K

काठमाडौं– नेकपा (एमाले)को बागमती प्रदेशका १४ जना सांसदले पार्टीलाई स्पष्टीकरण बुझाएका छन्।  राष्ट्रिय सभाको उपनिर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवार रामबहादुर थापा ‘बादल’लाई हराउन भूमिका खेलेको भन्दै एमालेको बागमती प्रदेश संसदीय बोर्डले उनीहरुलाई स्पष्टीकरण सोधेको थियो।

बोर्डले नेत्री अष्टलक्ष्मी शाक्यसहित माधवकुमार नेपाल पक्षका मानिने १४  प्रदेशसभा सदस्यहरुलाई स्पष्टीकरण सोेधेकोे थियो ।

केही दिनअघि भएको उपनिर्वाचनमा पार्टीको चुनाव चिह्न सूर्य बाहेकमा मतदान गरेको, अविश्वास प्रस्तावमा हस्ताक्षर गरेकोलगायत पार्टी विरोधी गतिविधिमा संलग्न भएको भन्दै १४ सांसदलाई स्पष्टीकरण सोधिएको थियो।

Advertisement

उनीहरुलाई आइतवार साँझ ५ बजेसम्म स्पष्टीकरण पेस गर्न भनिएकामा सबै सदस्यले  एकमुष्टरुपमा स्पष्टीकरण बुझाएको एमाले वाग्मती प्रदेश संसदीय दलका मुख्य सचेतक दीपक निरौलाले जानकारी दिए। 

प्राप्त स्पष्टीकरणको अध्ययनपछि चित्तबुझ्दो नभए पार्टी विधानानुसार कारवाही गरिने मुख्य सचेतक निरौलाले बताए।  कारवाही गर्ने सम्पूर्ण अधिकार  बोर्ड अध्यक्ष तथा मुख्यमन्त्री डोरमणि पौडेललाई दिएको निरौलाले जानकारी दिए।

स्पष्टीकरण सोधिएकाहरुमा अष्टलक्ष्मी शाक्य, राजेन्द्र प्रसाद पाण्डे, अरुण नेपाल, वसन्त मानन्धर, रचना खड्का, कृष्णप्रसाद खनाल, शान्ति प्रसाद पौडेल, मुनु सिग्देल, इन्द्रमाया गुरुङ, मीना ज्ञवाली, वसुन्धरा हुमागाईं, लक्ष्मण लम्साल, कुसुम कार्की र पार्वती सिलवाल छन्।