काठमाडौं – काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्न सक्ने हो भने संस्थागत विद्यालय स्वत: कमजोर भएर जाने बताएका छन्। शुक्रबार शिवपुरी माध्यमिक विद्यालयको ७२ औं वार्षिकोत्सव समारोहमा बोल्दै प्रमुख शाक्यले यस्तो बताएका हुन्।
प्रमुख शाक्यले सामुदायिक विद्यालयले चुम्बकीय गुणको विकास गरेर संस्थागत विद्यालयको भन्दा गुणस्तरीय शिक्षा दिने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिए।
‘नीजि क्षेत्रका विद्यालयले जसरी विद्यार्थी र अभिभावकलाई आकर्षित गरिरहेको छन् अब त्यसैगरी विस्तारै सामुदायिक विद्यालयले पनि चुम्बकीय गुणको विकास गर्नुपर्छ,’ शाक्यले भने, ‘संस्थागत विद्यालयमा विद्यार्थीको आकर्षण बढ्यो भनेर गुनासो गर्ने होइन त्यो भन्दा राम्रो र गुणस्तरीय शिक्षा दिएर विद्यार्थीको भविष्य हामी बनाई दिन्छौँ भन्ने ग्यारेण्टी सामुदायिक विद्यालयले दिन सक्नुपर्छ । त्यो भयो भने सामुदायिक स्वत विद्यार्थीको चाप बढ्ने छ।’
शाक्यले सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूले पनि संस्थागत विद्यालयलाई निषेध होइन, मेरो विद्यालयमा अध्ययनरत विद्यार्थीको भविष्यको जिम्मा म लिन सक्छु भन्ने ध्येयका साथ पठन–पाठनमा ध्यान दिई विद्यार्थीका साथै अभिभावकलाई विश्वास दिलाउनुपर्ने उनको भनाइ छ। ‘सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर निजी विद्यालयसँग समान बनाउने हो भने गुणस्तरीय शिक्षा खोज्दै अविभावक चर्को शुल्क तिर्नुपर्ने ठाउँमा जानुपर्ने वाध्यता स्वतः अन्त्य उनले धारणा राखे। ‘हामी बजारमा केही बस्तु किन्न जाँदा कसैले गुणस्तरीय बस्तु सस्तोमा दियो भने महंगोमा किन्न जाँदैनौं, शिक्षा पनि त्यहीँ हो,’ उनले भने।
प्रमुख शाक्यले विद्यालयमा स्थापना गरिएको सूचना प्रविधि प्रयोगशालाको उद्घाटन गरे। दूरसञ्चार प्राधिकरणको सहयोगमा २४ वटा कम्प्युटरसहितको प्रयोगशाला स्थापना गरिएको हो ।
विद्यालयमा शौचालय बनाउने, धुलोमुक्त खेल मैदानका लागि पूर्वाधार तयार पार्ने, विद्यालयलाई आकर्षक बनाउन रङ्ग लगाउने, महावाणी र भित्ते चित्र लेखन गर्नेलगायत काममा हामीले लगानी गरिरहेका छौं ।