काठमाडौँ – सर्वोच्च अदालतको संवैधानिक इजलासमा निरन्तर सुनुवाइमा रहेको प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा आजदेखि एमिकस क्युरी (अदालतको साथी)को बहस सुरु हुने भएको छ ।
यसअघि रिट निवेदक पक्षका वकिलको बहस सरकार पक्षका वकिलहरुको बहस सकिएको छ । साथै सरकारको प्रतिरक्षामा बहस गरेका वकिलहरुका तर्कमाथि रिट निवेदक पक्षले जवाफी बहस समेत गरिसकेका छन् । संविधानमा उल्लिखित अवशिष्ट अधिकार प्रधानमन्त्रीको विशेषाधिकार नभएको निवेदक पक्षका कानुन व्यवसायीहरूले जवाफी बहसका क्रममा जिकिर गरे । उनीहरुले यस्तै धारा ७४ को संसदीय व्यवस्था अवलम्बन गरेपछि आधारभूत मूल्य–मान्यताले नै संसद् विघटनको अधिकार दिने तर्क तथ्यसङ्गत नहुने जिकिर छ । जबकि सरकारको पक्षबाट वकालत गरेकाहरुले धारा ७४ मा प्रधानमन्त्रीको अधिकार रहेको दाबी गरेका थिए ।
इजलासमा पक्ष र विपक्षको बहस र रिट निवेदकतर्फको जवाफी बहस सोमबार सकिएको छ । आज मंगलबारबाट इजलासले मङ्गलबारदेखि एमिकसको बहस न्यायाधीशहरुले सुन्ने जनाउ दिइएको छ ।
गत माघ ४ गतेबाट संवैधानिक इजलासमा निरन्तर सुनुवाइ भइरहेको उक्त मुद्दामा बहस भएको पनि एक महिना पुग्यो । एमिकस क्युरीको धारणापछि इजलासलाई मुद्दामाथि फैसला गर्न सजिलो हुने अनुमान गरिएको छ ।
अदालतको आदेशअनुसार नेपाल बार एसोसिएसन र सर्वोच्च अदालत बार एसोसिएसनबाट पाँच जना एमिकस क्युरीका रूपमा सिफारिस गरिएको थियो । नेपाल बारले वरिष्ठ अधिवक्ताहरू बद्रीबहादुर कार्की, विजयकान्त मैनाली र सतिशकृष्ण खरेललाई एमिकसमा सिफारिस गरेको छ ।