लण्डन। गैरआवासीय नेपाली संघ (एनआरएनए)को राष्ट्रिय समन्वय परिषदहरु अहिले महाधिवेशन तायारीको अन्तिम चरणमा छन्। डेनमार्कमा यस अघि नै नयाँ कार्यसमिति निर्वाचित भैसकेको छ। राष्ट्रिय समन्वय परिषद निर्वाचन नियमावली अनुसार जुलाई ३१ अगावै महाधिवेशन सम्पन्न गरिसक्नु पर्ने र निर्वाचन मितिको ३ हप्ता पहिले सदस्यता वितरण बन्द गर्नुपर्ने भएकोले अधिकांश राष्ट्रिय समन्वय परिषदहरुमा सदस्यता आवेदन बन्द भैसकेको छ। एनआरएनए अस्ट्रियाले ५ जुलाईसम्म सदस्यता लिने समय तोकेकोमा जम्मा ४४१ जना सदस्यहरुको प्रमाणीकरण भएको जानकारी कोषाध्यक्ष तथा सदस्यता प्रमाणीकरण समिति सदस्य बिरेन्द्र पुनले बताए।
एनआरएनए आईसीसी सदस्य विकाश कार्कीले दिएको जानकारी अनुसार अस्ट्रियामा बालबालिकाहरु बाहेक लगभग छ सयको हाराहारीमा गैरआवासीय नेपालीहरु बसोबास गर्छन्। जसअनुसार प्रतिशतको आधारमा एनआरएनए अस्ट्रियाले कुल संख्याको ७० % भन्दा धेरै नेपालीहरुलाई सदस्यता प्रदान गरेको देखिन्छ, जुन अन्य राष्ट्रिय समन्वय परिषदहरुको तुलनामा अत्यधिक हो। यद्यपि अस्ट्रियामा कतिजना नेपालीहरु बसोबास गर्छन भन्ने यकिन गरेर भन्न नसकिने समेत बताए आईसीसी सदस्य कार्कीले ।
अध्यक्ष भवानी तिवारी र महासचिव रोशन घिसिङ् समेत सदस्य प्रमाणीकरण समितिमा रहेका थिए। अध्यक्ष तिवारीका अनुसार नियम संगत तरिकाले सदस्यता प्रमाणीकरण समिति र सदस्यता प्रमाणीकरण पर्यवेक्षक समिति गठन गरि व्यापक प्रचार प्रसार गरिएकोले यति ठूलो प्रतिशत पुग्न सकेको हो। पर्यवेक्षक समितिमा दिपेन्द्र हिमालय कार्की, मुक्त बहादुर गुरुङ्ग र करुणा तुलाचन रहेका थिए।
एनआरएनए अस्ट्रियाको महाधिवेशन तथा निर्वाचन यहि जुलाई २२ मा प्रत्यक्ष उपस्थित भएर मतदान गरि हुन लागिरहेको छ। निर्वाचन सम्पन्न गर्न एनआरएनए अस्ट्रियाले भुपेन्द्र गुरुङ्गको संयोजकत्वमा नेत्र खड्का र अन्जना आचार्य सदस्य रहेको केन्द्रीय निर्वाचन समिति गठन गरि प्रक्रियामा यस अघि नै बढिसकेको जानकारी एनआरएनए अस्ट्रियाको आधिकारिक फेसबुकबाट प्राप्त गर्न सकिन्छ।