लण्डन । गैर–आवासीय नेपाली संघ (एनआरएनए) यूकेले आगामी १८ अक्टोबरको दिन विशेष साधारण सभा गर्ने निर्णय गरेको छ । संघको कार्यसमितिको गत सेप्टेम्बर २१ मा बसेको पूर्ण बैठकले उक्त निर्णय गरेको हो ।
उपाध्यक्ष सुनिल बाबु खड्काको अध्यक्षतामा बसेको बैठकले वर्तमान असामान्य परिस्थितिमा संघको विशेष साधारण सभा एनआरएनए आइसीसी र पञ्जिकृत सदस्यहरुको चाहाना बमोजिम निर्धारित मितिमा गर्ने निर्णय गरेको छ । जसअनुसार कार्यक्रम पश्चिम लण्डनस्थित भेन्यु ब्लू रुममा बिहान १० बजेबाट सुरु हुने जानकारी महासचिव खुशी लिम्बूले गराए ।
बैठकले विशेष साधारण सभाको तयारीको लागि कार्यसमितिका सबै लागि पर्ने निर्णय गर्दै बार्षिक प्रगति प्रतिवेदनको लागि महासचिव खुशी लिम्बूलाई र आर्थिक प्रतिवेदनको तयारी कोषाध्यक्ष बिष्णु खरेललाई जिम्मेवारी तोकेको छ । त्यस्तै, विधान सम्बन्धी प्रस्तावहरु तयार गर्न उपाध्यक्ष नारायण कँडेललाई, च्यारिटीका प्रतिवेदन तयार गर्न उपाध्यक्ष गोविन्द खरेललाई जिम्मेवारी तोकिएको छ ।
बैठकको निर्णयअनुसार उल्लिखित १८ अक्टोबरमा हुने विशेष साधारण सभाबारे एनआरएनए यूकेका सबै पञ्जिकृत सदस्यहरुलाई आवश्यक जानकारी गराइने र निमन्त्रणा गरिने भएको छ । तर सम्बन्धित सबै पञ्जिकृत सदस्यहरुसम्म पुग्न उनीहरुको इमेल ठेगाना चाहिने भएकोले एनआरएनए आइसीसीलाई यूकेका पञ्जिकृत सदस्यहरुको इमेल ठेगाना डेटाबेस उपलब्ध गराउन अनुरोध गर्ने निर्णय भएको छ ।
