लन्डन। समाजिक काम गर्ने उदेश्यले बेलायतमा खोलिएका तीन दर्जन संस्थाले बेलायतका लागि नेपाली राजदुत ज्ञानचन्द्र आचार्यको अपमान गर्ने नियतले निकै आपत्तिजनक विज्ञप्ति जारी गरेका छन् ।
गैर-आवासीय नेपाली संघ (एनआरएनए) युकेको नाममा शनिबार भइरहेको कार्यक्रममा सहभागी नभई बीच बाटोेबाटै फर्केपछि बेलायतस्थित ३० संस्थाहरुले राजदुत आचार्यबिरुद्ध चेतावनीशैलीमा विज्ञप्ति जारी गर्दै नेपाली दुतावास लण्डन लगायत बेलायतस्थित नेपाली समुदायलाई अपमानित गरेका हुन् ।
एनआरएनए यूकेको शनिबार अल्डरसटमा हुने भनिएको साधारणसभामा प्रमुख अतिथिको रुपमा सहभागी हुने बताइए पनि गैर-आवासीय नेपाली संघका केन्द्रीय पदाधिकारीहरु तथा एनआरएनए यूकेका २४ जना पदाधिकारीले सो भेला बहिस्कार गरेपछि राजदूत आचार्य अप्ठ्यारोमा परेका थिए ।
गैर-आवासीय नेपाली संघलाई बिभाजन गरेर सरकारबिरुद्ध उभिएका संघका पूर्वअध्यक्ष शेष घले प्रमुखअतिथि हुने भएपछि आचार्य कार्यक्रममा नजाने निधो गरेका थिए ।
विभिन्न ३३ वटा संस्थाका अध्यक्ष एवं प्रतिनिधिले हस्ताक्षर गरेको वक्तव्यमा राजदूत आचार्यले निमन्त्रणा स्वीकार गरिसकेको कार्यक्रममा अन्तिम समयमा पूर्व जानकारीबिना अनुपस्थित भएर कार्यक्रमका आयोजक एवं सहभागी सबैलाई अपमानित गरेको आरोप लगाइएको छ।
बेलायतवासी सम्पूर्ण नेपालीको अभिभावक हुनुपर्ने राजदूतलाई उनीहरुले आयोजना गरेको स्वार्थ समूहको भेलामा उपस्थित भएर राजदूत साक्षी नबसे पछि उनीहरुले आक्रोश पोखेका हुन् ।
गत वर्षदेखि नेपाली दुतावास लण्डनको नेतृत्व सम्हालेका आचार्यले सबैको साझा राजदूतको रुपमा भूमिका खेल्दै आएका छन् । उनी शेष घले समूहको आयोजना भएको सो भेलामा अनुपस्थित भएपछि उनलाई विवादमा तान्ने प्रयास गरिएको हो ।
बेलायतमा ५ सय भन्दा बढी संघसंस्था छन् । अधिकांस संघसँस्था आफ्नो उदेश्य प्राप्तको लागि भन्दा विवादस्पद गतिविधिमा संलग्न हुने गरेका छन् ।
सामान्य भेलामा अनुपस्थित राजदूतबिरुद्ध जाई लाग्ने संघसँस्था यस्ता छन् ।