कुवेत । कुवेतमा वैदेशिक रोजगारीका क्रममा विभिन्न समयमा मृत्यु वा घाइते भएका नेपाली नागरिकका परिवारलाई कुवेतस्थित नेपाली दूतावासमार्फत क्षतिपूर्ति वितरण गरिएको छ ।
नेपाली दूतावासका अनुसार आर्थिक वर्ष २०७९/०८० मा सम्बन्धित कम्पनीहरूबाट प्राप्त क्षतिपूर्ति, बाँकी तलब, सेवा–सुविधा तथा मानवीय सहयोग रकम संकलन गरी नेपाल सरकार, परराष्ट्र मन्त्रालय अन्तर्गतको कन्सुलर सेवा विभाग मार्फत सम्बन्धित हकदारसम्म पठाइएको हो ।
दूतावासको निरन्तर पहलपछि कुल कुवेती दिनार ६३,४८१.८५१ बराबरको रकम प्राप्त भएको प्रेस बिज्ञप्ती मार्फत जनाइएको छ। उक्त रकम मृतक तथा घाइते नेपाली नागरिकका कानुनी हकदारले प्राप्त गरेका छन् ।
दूतावासले सार्वजनिक गरेको विवरणअनुसार झापा, नवलपरासी पूर्व, बारा, रामेछाप, मोरङ, ससरी, गोरखा, धनुषा, काठमाडौँ क्षेत्र तथा चितवन जिल्लाका पीडित परिवारहरू क्षतिपूर्तिबाट लाभान्वित भएका छन्। क्षतिपूर्तिको रकम न्यूनतम १२५ कुवेती दिनार देखि अधिकतम ६२५ कुवेती दिनार सम्म रहेको छ भने एक जनाले ४,५४७.०३४ कुवेती दिनार बराबरको रकम प्राप्त गरेका छन् ।
नेपाली दूतावासले वैदेशिक रोजगारीका क्रममा समस्या भोगेका नेपाली नागरिकको हकहित संरक्षणलाई प्राथमिकतामा राख्दै कानुनी सहायता, समन्वय तथा राहत वितरण कार्यलाई निरन्तरता दिँदै आएको जनाएको छ। दूतावासले आगामी दिनमा पनि पीडित नेपाली नागरिक तथा उनका परिवारको पक्षमा आवश्यक पहल जारी रहने स्पष्ट पारेको छ ।



