काठमाडौँ । नेपालले एक चीन सिद्धान्तप्रति आफ्नो अटल प्रतिबद्धता पुनः दोहोर्याएको छ । चाइना स्टडी सेन्टर, नेपालद्वारा जारी प्रेस विज्ञप्तिअनुसार नेपालले जनवादी गणतन्त्र चीनलाई सम्पूर्ण चीनको एक मात्र वैध सरकारको रूपमा मान्यता दिएको र तिब्बत तथा ताइवान चीनका अभिन्न अंग भएको धारणा पुनः पुष्टि गरेको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘एक चीन सिद्धान्त नेपाल–चीन सम्बन्धको आधारशिला हो, जसले दुई देशबीचको ऐतिहासिक, सांस्कृतिक र कूटनीतिक सम्बन्धलाई सुदृढ बनाएको छ ।’ विज्ञप्तिमा नेपाल र चीनबीच शान्तिपूर्ण सहअस्तित्व र पारस्परिक सम्मानमा आधारित लामो सम्बन्ध रहेको उल्लेख गरिएको छ ।
नेपालले चीनको सार्वभौमिकता र भौगोलिक अखण्डतालाई कमजोर पार्ने उद्देश्यले गरिने कुनै पनि गतिविधिप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ । विशेष गरी तिब्बतसँग सम्बन्धित गतिविधिहरूलाई लिएर नेपाल सतर्क रहेको जनाइएको छ । नेपाल भूमिमा कुनै पनि चीनविरोधी गतिविधि हुन नदिन आवश्यक कदम चालिने विज्ञप्तिमा उल्लेख छ ।
सेन्टरले आफ्ना अन्तर्राष्ट्रिय सीमाहरू प्रभावकारी रूपमा व्यवस्थापन गर्ने प्रतिबद्धता व्यक्त गर्दै नेपाल–भारत सीमा लगायतका क्षेत्रमा अवैध गतिविधि नियन्त्रण गरिने जनाएको छ । साथै तथाकथित ‘निर्वासित सरकार’ र त्यसका गतिविधिहरूलाई नेपालले अस्वीकार गर्ने स्पष्ट गरिएको छ ।
चाइना स्टडी सेन्टरका कार्यवाहक अध्यक्ष सुन्दरनाथ भट्टराईद्वारा हस्ताक्षरित विज्ञप्तिमा नेपाल–चीन सम्बन्ध शान्तिपूर्ण सहअस्तित्व, पारस्परिक हस्तक्षेप–रहित तथा रणनीतिक सहकार्यका सिद्धान्तमा आधारित रहेको उल्लेख गर्दै सामाजिक–आर्थिक विकास र समृद्धिका लागि सहकार्य जारी रहने जनाइएको छ । दुई देशबीच फुट ल्याउने बाह्य प्रयास असफल हुने दाबी पनि गरिएको छ । उक्त विज्ञप्ति फेब्रुअरी ११, २०२६ मा जारी गरिएको हो ।




