काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले विगतमा राजनीतिक दलहरूबाट भएका कमीकमजोरीको समीक्षा गर्दै ‘नयाँ नेपाल’ निर्माणका लागि दृढ संकल्पका साथ अघि बढ्ने बताएका छन् ।
मंगलबार पार्टीको प्रतिवद्धता पत्र सार्वजनिक गर्दै राजनीतिक व्यवस्था बदलिए पनि जनताको जीवनस्तर नबदलिएको स्वीकार गरेका हुन् ।
विभिन्न २६ वटा वामपन्थी र समाजवादी घटकहरू मिलेर बनेको नयाँ शक्तिले २०८४ को सट्टा २०८२ सालमै हुनसक्ने निर्वाचनका लागि आफूलाई तयार पारेको उनको भनाइ छ ।
उनले संविधानले निर्दिष्ट गरेको समाजवाद उन्मुख राज्य निर्माणमा विगतका सरकारहरू उदार पुँजीवादकै वरिपरि अल्झिएको टिप्पणी गर्दै अब ‘नेपाली विशेषताको समाजवाद’ को बाटो तय गरिने स्पष्ट पारे । प्रतिबद्धता पत्रमा सुशासनलाई मुख्य प्राथमिकता दिँदै सार्वजनिक पद धारण गरेका सबै व्यक्तिको सम्पती छानबिन गर्न ‘उच्चस्तरीय स्वतन्त्र सम्पत्ति छानबिन आयोग’ र भ्रष्टाचार नियन्त्रणका लागि ‘शक्तिशाली लोकपाल’ गठन गर्ने प्रस्ताव गरिएको छ ।