लण्डन । सिसेक्पा तङनाम (साउने सक्रान्ति) २०२२ मा भएको याःलाङ (धान नाच) प्रतियोगितामा किराँत याक्थुङ चुम्लुङ (कियाचू) यूकेको ग्रेटर लण्डन शाखा प्रथम भएको छ । गत शनिबार जुलाई १६ मा मेडस्टनको याल्डिङ भिलेजस्थित चुम्लुङदेनमा भएको प्रतियोगितामा केवाइसी यूकेको लण्डनस्थित पुरानो शाखा ग्रेटर लण्डनले धान नाच प्रतियोगितामा प्रथम भएको स्थान हासिल गरेको हो ।
शाखाको तर्फबाट धान नाच प्रतियोगितामा पाँच महिला र पाँच पुरुष गरी जम्मा १० जनाले सामुहिक रुपमा भाग लिए । पुरुषहरुको तर्फबाट ऋतू आङबुहाङको नेतृत्वमा भक्ति आङदेम्बे, टंक तुम्बाहाङ, राजेन्द्र नाल्बो र खुशी तावाले र महिलाको तर्फबाट झरना जवेगूको नेतृत्वमा जीता पाङमा सीता थोप्रा, दिलकुमारी मादेन र पूर्ण पाङमाले पान्थरे-याङवरके भाकाको पालम गाए ।
प्रतियोगितामा उत्तम प्रस्तुति, शैली, भाका, स्वर, पोशाक, चाल र टीम वर्क का कारण यो बर्ष ग्रेटर लण्डन शाखालाई धान नाच प्रतियोगितामा शिल्ड, नगद र प्रमाणपत्र मिलेको प्रतियोगिताका निर्णायक जसराज चेम्जोङले बताए ।
शाखाकै तर्फबाट निश्चल आङबाङको नेतृत्वमा दीपक थक्लुङ, इङसो काम्बाङ, एलिशा आङदेम्बे, ईङशा फोम्बो र नमुना काम्बाङले च्याब्रुङ प्रतियोगितामा भाग लिएको भएपनि कडा प्रतिस्पर्धाको कारण यस पटक गे्रटर लण्डन शाखाले जीत हात पारेन । च्याब्रुङमा यस पटक आसफोर्ड शाखा प्रथम भयो ।
कियाचू यूके ग्रेटर लण्डन शाखाका अध्यक्ष देव आङबुहाङले सिसेक्पा तङनाम २०२२ सफल पार्न आफ्नो शाखाबाट अहम भुमिका खेल्ने सदस्यहरुलाई सञ्जालमार्फत धन्यवाद ज्ञापन गरेका छन् । पाल र फर्निचर व्यवस्थापनका लागि भिम बखिम, नेत्र चेम्जोङ, राजेन्द्र नाल्बो, अङसु आङबुहाङलाई धन्यवाद ज्ञापन गरेका छन् भने खाना र पेय व्यवस्थापन–वितरणका लागि सम्बन्धित परिवारजनहरुलाई, सूचना सम्प्रेषणका लागि राजेन्द्र नाल्बो, मानप्रसाद लिम्बु र पदम योङहाङलाई धन्यवाद दिएका छन् ।
त्यस्तै, यातायात व्यवस्थापनका लागि हस्त लिङखिम, झरना जबेगू र कल्पना आङबाङ, टेबल सेटिङका लागि रन तावा र रुमी तावा, र टेण्ट–फर्निचर सेटिङका लागि टंक तुबाहाङ, मनी सिङयेम र डेमिङ आङबुहाङ अध्यक्ष र समितिको लागि धन्यवादको पात्र बनेका छन् ।
सिसेक्पा तङनाममा भएका दुवै प्रतियोगिताका निर्णायक (जज) पनि ग्रेटर लण्डन शाखाका सदस्यहरु थिए । धान नाच (या लाङ) मा जसराज चेम्जोङ र च्याब्रुङ नाच (केलाङ) मा दिनेश लिङदेन निर्णायक मण्डलमा रहे ।
किराँत याक्थुङ चुम्लुङ यूके (ग्रेटर लण्डन शाखा) का अध्यक्ष देव आङबुहाङले यस बर्षको सिसेक्पा तङनाममा आआफ्नो तर्फबाट सहयोग पुर्याउने सबै सदस्यहरुलाई धन्यवाद ज्ञापन गर्दै भविष्यमा पनि सोही स्तरको सहयोगको अपेक्षा गरेका छन् ।
कियाचू (यूके) ग्रेटर लन्डन शाखाको स्थापना सन् २०१२ मा याक्थुङ मिडलसेक्स सोसाइटी, याक्थुङ लन्डन सोसाइटी र कियाचु साउथ–इस्ट लन्डन शाखाको एकीकरणबाट भएको थियो ।
किराँत याक्थुङ चुम्लुङ यूकेले आफ्नो स्थापनाकाल (सन २००३) देखि जुलाई महिनामा लगातार सिसेक्पा तङनाम मनाउँदैआएको भएपनि कोभिड महामारीका कारण बितेको दुई बर्ष आयोजना भएन । मेडस्टोनको याल्डिङमा रहेको चुम्लुङ देन (जग्गा) मा सम्पन्न सिसेक्पा तङ्नाम कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा करिब ३ हजार ५०० जनाको सहभागिता रहेको कियाचु यूकेका उपाध्यक्ष तथा कार्यक्रम संयोजक गणेश इजमले बताए ।
कार्यक्रममा बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य प्रमुख अतिथि थिए भने एनआरएनए यूके, नेफिन यूके लगायत बेलायतका दर्जनभन्दा बढी संस्थाका प्रतिनिधिहरुको उपस्थिति थियो । कार्यक्रममा हालै निलम्वनमा परेका एनआरएनए यूकेका अध्यक्ष प्रेम गाहा मगर पनि निलम्वनपूर्व नै निमन्त्रणा पाएका कारण अतिथिदिर्घामा उपस्थित थिए ।
चुम्लुङ यूकेमा आबद्ध १६ शाखा समितिका चुम्लुङकर्मीहरू बिहानैबाट २५.३३ एकड क्षेत्रफलमा फैलिएको चुम्लुङ देनमा केन्द्रित भएका थिए । राजदूत आचार्यसहित धर्मपत्नी सुनिता आचार्य, एनआरएनए यूकेका निलम्बित अध्यक्ष प्रेम गाहामगर, नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) यूके अध्यक्ष कर्मा पहाडी शेर्पा, लन्डज होन्स्लोका पूर्वमेयर एवम् काउन्सिलर विष्णु गुरुङ, विभिन्न जातीय संगठनका प्रमुख एवम् प्रतिनिधिहरू, चुम्लुङ पूर्वअध्यक्ष, पूर्वपदाधिकारी एवम् सल्लाहकारलगायतलाई केलाङ समूहले स्वागत गरेका थिए ।
तङ्नामलाई सम्बोधन गर्दै प्रमुख अतिथि राजदूत आचार्यले नेपालको सांस्कृतिक विविधतालाई झल्काउन बेलायतका जातीय सामाजिक संस्थाहरूले महत्वपूर्ण योगदान दिएको धारणा राखे । उनले प्रवासमा रहेका नेपालीहरूको भाषा, संस्कृतिका क्षेत्रमा केही काम गर्न दूतावासको इच्छा रहेको बताए । उद्घाटनलाई एनआरएनए यूके अध्यक्ष मगर, नेफिन यूके निलम्बित अध्यक्ष शेर्पालगायतले सम्बोधन गरेका थिए ।
सिसेक्पा तङ्नामकै अवसर पारेर कियाचुले बेलायतका विभिन्न विश्वविद्यालयबाट उच्च तहको अध्ययन पूरा गरेका याक्थुङ लिम्बु समुदायका युवा विद्यार्थीहरूलाई प्रशंसा पत्र प्रदान गरिएको उपाध्यक्ष अमृता पालुङ्वाले बताइन् । सोही अवसरमा बेलायतको साङ्गीतिक भ्रमणमा रहेका भ्वाइस अफ नेपाल सिजन दुईका विजेता राम फागो वनेम लिम्बुलाई समेत सम्मान पत्र प्रदान गरिएको थियो ।
त्यसैगरी, गत वर्षको सेप्टेम्बरमा भएको दसौँ महाधिवेशनबाट पदीय जिम्मेवारीबाट बिदा लिएका निवर्तमान पदाधिकारी सदस्यहरूलाई धन्यवाद पत्र दिइएको महासचिव जुरेन्द्र खजुमले बताए । त्यसैगरी, कियाचु यूकेले वार्षिक रूपमा प्रदान गर्ने अवार्डहरू पनि वितरण गरिएको थियो । सबैभन्दा सक्रिय चुम्लुङकर्मीलाई प्रदान गरिने अवार्ड चुम्लुङ अवार्ड वेस्ट केन्ट शाखाका निवर्तमान सचिव इन्द्र थक्लुङले हात पारे । त्यस्तै, चुम्लुङले सञ्चालन गर्ने विभिन्न खेलकुद गतिविधिहरूमा उल्लेख्य योगदान दिनेमध्ये यस वर्ष भगीरथ जवेगूलाई यलम्बरहाङ अवार्ड दिइयो । याक्थुङ संगीत, कला, सँस्कृतिमा सक्रिय भूमिका खेलेकी रीता फोम्वो ‘ठूली’ले आर्टिस्ट अफ दी यर अवार्ड थापिन् ।
सिसेक्पा तङ्नामको मुख्य आकर्षणका रुपमा रहेको यूकेव्यापी अन्तरशाखा केलाङ(च्याब्रुङ नाच) प्रतियोगिताको उपाधि कियाचु यूके आसफोर्डसम्बद्ध केलाङ समूहले हात पारेको छ । उसले पछिल्लो पटक सन् २०१९ मा भएको प्रतिस्पर्धामा समेत ट्रफी उठाएको थियो । यससँगै आसफोर्ड केलाङ समूहले तीन पटक उपाधिमाथि कब्जा जमाएको छ । उसले रनिङ शिल्डसहित नगद, प्रमाणपत्र समेत हात पारेको छ । प्रतिस्पर्धामा छ टिम सहभागी भएका थिए । यसैगरी, या?लाङ(धान नाच) प्रतियोगितामा ग्रेटर लन्डन शाखाले उपाधि हात पारेको छ । समूहले प्रस्तुत गरेको पाःलाम(धान नाच्दा गाइने लोकगीत) उत्कृष्ट सावित भएको थियो ।
तङ्नाममा सहभागी भएका नयाँ पुस्ताहरूले भरपूर मनोरञ्जन लिएको कार्यक्रम संयोजक एवम् उपाध्यक्ष गणेश इजमले बताए । ‘युवा पुस्ता एवम् बालबालिकाहरूले खुलेर मनोरञ्जन लिए । बालबालिकाहरूका लागि यसपटक रोटेपिङ र बन्जी ट्रेम्पोलिनको व्यवस्था पनि गरेका थियौँ,’ उनले भने, ‘तन्नेरी पुस्ताहरूले समेत सिरिजङ्गा लिपि र याक्थुङ प्रतीक राखेर तयार पारिएका पहिरन र सामग्री खरिद गरेर आफ्नो आकर्षण देखाए । अन्तिमतिर भएको ककटेल केलाङमा उनीहरू खुलेर नाचे ।’
सो अवरसमा भ्वाइस अफ नेपालका विजेता राम लिम्बुले गीत प्रस्तुत गरेका थिए । त्यस्तै, लिम्बुवान आइडलका रनर अप एलवी साँवा, डम्बर इवाहाङले समेत आफ्ना गीत प्रस्तुत गरेका थिए । त्यसैगरी, सुब्रिना लिम्बु, दिवाना पालुङ्वाले नृत्य प्रस्तुत गरेकी थिइन् ।
तङ्नाममा थामेन्दिङ्मा महिला समिति, याक्थुङ कुस्सा चुम्लुङ, खाद्य व्यवसायी, रेष्टुरेन्ट, व्यावसायिक प्रतिष्ठानका करिबा साढे दुई दर्जन बढी स्टलहरु राखिएका थिए । परम्परागत गरगहना र मौलिक परिहनमा सजिएर उपस्थित भएका सहभागीहरूले ती स्टलबाट सुपथ मूल्यमा सामग्री खरिद गरेका थिए । तङ्नाममा ज्येष्ठ नागरिक र दीर्घ रोगीहरूलाई मध्यनजर गरेर स्वास्थ्य शिविर समेत राखिएको संयोजक इजमले जानकारी दिए । तङ्नाममा सहभागी भएर याक्थुङ लिम्बु समुदायको एकता र साँस्कृतिक सम्पदा देखेर आफू ज्यादै प्रभावित भएको मगर सङ्घ यूकेका उपाध्यक्ष रुद्र थापा मगरले प्रतिक्रिया दिए । त्यस्तै, किरात राई यायोक्खा बेलायतका महासचिव देवेन्द्र खेरेसले समेत साँस्कृतिक मेलामा सहभागी हुन पाउँदा गाउँघरमा पुगेको भान भएको बताए । तङ्नाममा मौलिक पेय पदाथै तङ्वा, सेजङ्वा(रक्सी), साग्र्याङ्मा, याङ्वेन, पेना माङ्दक, सि खरेङ लगायत जातीय खाद्य एवम् पेय पदार्थहरू पनि उपलब्ध थिए ।