काठमाडौँ – यूएई आएर भिजिट भिसामा काम नगर्न आबुधाबीस्थित नेपाली दूतावासले आग्रह गरेको छ ।
भिजिट भिसामा आएर काम गर्नु वैदेशिक रोजगार ऐन २०६४ र वैदेशिक नियमावली २०६४ विपरित भएको भन्दै यूएईको दूतावासले त्यसो नगर्न आग्रह गरेको हो । श्रम स्वीकृति नलिइ भिजिट भिसामा वा अन्य भिसामा गएर काम गर्ने कानुनी व्यवस्था छैन ।
यसरी भिजिट भिसामा आउने क्रममा विभिन्न किसिमका ठगीमा पर्ने, भिजिट भिसामा बोलाउनेले नै अलपत्र पारिदिने र मानव तस्करको सञ्जालसम्म पुग्ने जोखिम हुनसक्ने दूतावासले जनाएको छ ।
यस्तै भिजिट भिसामा गएर काम गर्ने क्रममा अलपत्र परेको वा समस्यामा परेको खण्डमा म्यानपावर कम्पनी वा सरकारी निकाय पनि जिम्मेवार नहुने भएकाले काम गर्ने उद्देश्य हो भने श्रम स्वीकृति लिएर मात्र आउन दूतावासले आग्रह गरेको छ ।