April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

एनआरएनए यूकेको नवौं राष्ट्रिय अधिवेशन जुलाईअगावै हुने

5.3K

लण्डन – गैर–आवासीय नेपाली संघ (एनआरएनए) यूकेको यस पटकको चुनाव आगामी जुलाई वा त्योभन्दा अगावै हुने भएको छ । संघको कार्यसमितिले आज एक भर्चुअल कार्यक्रम मार्फत बेलायतवासी सम्पूर्ण एनआरएनएहरुलाई जानकारी गराएको हो ।

कार्यक्रममा एनआरएनए आइसीसीका महासचिव डा. हेमराज शर्मा र आइसीसी सदस्य राम शरण सिंखडाले गत जनवरी २३ र २४ मा सम्पन्न संघको केन्द्रीय विशेष महाधिवेशनको निर्णयहरु र विधानमा भएको परिवर्तन बारे जानकारी गराए ।

संघको परिवर्तित विधान अनुसार प्रत्येक राष्ट्रिय परिषदहरुले जुलाई महिनाभित्र अधिवेशन गर्नु पर्ने बाध्यकारी नियम लागू भएबाट एनआरएनए यूकेले पनि आफ्नो नवौं राष्ट्रिय अधिवेशन यसै बर्षको जुलाईभित्रमा गराइसक्नु पर्ने भएको छ ।

Advertisement

विधानमा परिवर्तन भएअनुसार आइसीसी (केन्द्र) को प्रतिनिधिहरुमध्ये ६५ प्रतिशतले राष्ट्रिय परिषद (एनसीसी) मा काम गरीसकेको वा एनसिसीको तर्फबाट केन्द्रमा प्रतिनिधित्व गरिसकेकोहरु हुन पर्ने र जो निर्वाचन पूर्व नै छानिनु पर्नेछ । त्यस्तै २५ प्रतिशत महाधिवेशन प्रतिनिधिहरू एनसीसीको निर्वाचनमै निर्वाचित हुनु पर्ने, १० प्रतिशत युवा, महिला, दोश्रो पुस्ता, विज्ञ–पेशागत वा विषेश योगदान दिएकाहरुबाट कार्यसमितिको सिफारिसमा निर्वाचित अध्यक्षले मनोनयन गर्ने व्यस्वथा रहेको छ । महाधिवेशन प्रतिनिधिहरुको नामावली पनि १५ अगष्टसम्म केन्द्रमा बुझाई सक्नु पर्ने भएको छ।

संशोधित विधानमा एक थप युवा सहित जम्मा ६ जना उपाध्यक्ष रहने, एक महिला सहित ४ सचिव, दुई सहकोषाध्यक्षमध्ये एक महिला अनिवार्य, सबै क्षेत्रमा महिला तथा युवा उपसंयोजक थपिएका छन् । साथै केन्द्रको पूर्व अध्यक्षको संयोजकत्वमा ५ सदस्यीय निर्वाचन अनुगमन समिति निर्माण गरिने । विधान समिति, लेखा समिति, अनुसाशन समिति र निर्वाचन समितिको पनि थप ब्याख्या समेत गरिएको छ ।

कार्यक्रममा एनआरएनए यूकेले स्मार्ट एनआरएनए पहल बमोजिम आउने दिनमा सदस्यता दर्ता प्रणाली, शुल्क भुक्तानी, डेटाबेस र अनलाइन भोटिङ पद्दति चाँडै लागू गर्न लागेको अध्यक्ष पूनम गुरुङले बताइन् । यसका लागि सदस्यहरु र सरोकारवाला सबैबाट सहयोगको अपेक्षा राखिन् ।

कार्यक्रमको संयोजन एनआरएनए यूकेकी उपाध्यक्ष रोजिना प्रधान राई र सञ्चाल महासचिव फडिण्द्र भट्टराईले गरेका थिए । कार्यक्रममा एनआरएनए यूकेका बिभिन्न तप्काका सदस्यहरु र बिभिन्न संघसंस्थाका प्रतिनिधिहरु सहित ९० जनाको सहभागिता थियो ।