दोहा । नेपाल व्यवसायी संघ कतारले दोस्रो राष्ट्रिय अधिवेशन गर्ने भएको छ । अधिवेशन आगामी २६ जनवरीमा हुने भएको छ ।
संघको विहिबार बसेको पूर्ण बैठकले सन् २०२४–२०२८ कार्यकालका लागि कार्यसमिति चयनका लागि संयोजकमा संघका उपाध्यक्ष तथा एनआरएनए आईसीसी उपाध्यक्ष नरेन्द्रबहादुर भाटलाई मनोनित गरिएको संघका महासचिव रमेश भट्टले जानकारी दिए ।
त्यस्तै बैठकले अधिवेशन तयारी समिति संयोजक संघका अध्यक्ष महेन्द्र प्रसाद चम्लगाई र उप–संयोजकमा सल्लाहकार शंकरप्रसाद न्यौपानेलाई चयन गरिएको जानकारी दिदै संघका अध्यक्ष चम्लागाईले अधिवेशन भव्यरुपमा सम्पन्न गर्ने तयारी गरिएको जानकारी दिए ।
संघले कतारमा रहेका व्यवसायीहरुलाई एकताको शुत्रमा बाध्ने प्रतिवद्धतासहित नयाँ सदस्यता वितरण तथा नविकरणका लागि आगामी १ सेप्टेमवर २०२३ देखि ३१ डिसेम्बर २०२३ सम्मका लागि खुल्ला गरेको छ ।
यसैबीच संघको पूर्ण बैठकले गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारमा भर्खरै निर्वाचित सम्र्पूण कार्यसमितिलाई बधाई तथा शुभकामना दिदैं गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको आशन्न अन्तर्राष्ट्रिय महाधिवेशनका समयमा उम्मेदवारी दिने संघसँग आवद्ध उम्मेदवारलाई संघले चौतर्फी सहयोग गर्ने निणर्य गरेको थियो ।
त्यस्तै महावीर पुनद्वारा सन्चालित राष्ट्रिय आविस्कार केन्द्र वीरगंजमा आवश्यक सहयोग गर्ने निणर्य गरेको बैठकले कतारमा हुँने ‘एक्स्पो २०२३ दोहा कतार’ मा नेपालको गरिमा उच्च हुनेगरी रचनात्मक सहभागिता जनाउने निणर्य गरिएको थियो ।