लण्डन । रसमोर काउन्सिलले स्थानीय गोरखा भूतपूर्व सैनिकहरूले भोगिरहेका समस्याका बारेमा बेलायत सरकारलाई पत्राचार गर्ने भएको छ । रसमोरमा बेलायतमा गोरखाहरुको अत्यधिक बसोबास रहेको छ ।
गत मेमा भएको स्थानीय निर्वाचनपछि बसेको काउन्सिलको पहिलो बैठकले सो निर्णय गरेको हो । बैठकमा लेबर पार्टीका काउन्सिलर धनबहादुर सार्कीले सो प्रस्ताव राखेका थिए भने कन्जरभेटिभ पार्टीका काउन्सिलर नेमबहादुर थापाले समर्थन गरेका थिए । सार्की र थापा दुवै पूर्व गोरखा सैनिक हुन् ।
प्रस्तावलाई काउन्सिलको बैठकमा निर्णयार्थ प्रस्तुत नगरी सर्वसम्मतले पारित गरिएको काउन्सिलर थापाले जानकारी दिए ।
प्रस्तावमा रसमोर काउन्सिलले सो क्षेत्रमा बसोबास गरिरहेका पूर्व गोरखा सैनिकहरूलाई आवास, पेन्सन क्रेडिट, स्थानीय समाजमा समायोजनलगायतका क्षेत्रमा परिरहेका समस्याहरुका बारेमा छानविन गर्ने उल्लेख छ ।
सन् १९४८ देखि १९९७ को बीचमा सेवा निवृत्त भएका गोरखा भूतपूर्व सैनिकहरुले कम निवृत्तीभरण पाएको, मानसिक तथा र शारीरिक स्वास्थ्य समस्या भोग्नुपरेको र गरिबीका कारण उनीहरूको जीवन कष्टकर बनेकोले सो छानबिन गर्न लागिएको हो । उनीहरूका समस्या समाधान गर्न काउन्सिलले अपनाएका उपायहरू पर्याप्त भए नभएको र थप कदमका लागि के गर्नुपर्ने लगायतका विषय पनि छानविनमा उठाइने बताइएको छ ।