नेपाली जनसम्पर्क समिति बेलायतका सल्लाहकार शिबजी श्रेष्ठले खड्ग प्रसाद ओलीले संविधान र व्यवस्थामाथि नै प्रहार गर्दैगर्दा संवैधानिक व्यवस्थाको लागि विगत ७४ बर्षदेखि निरन्तर लड्दैआएको पार्टी नेपाली कांग्रेस निरिह र लाचार भएर बस्न नहुने विचार व्यक्त गरेका छन् ।
“यदि हामीले विरोधका लागि मात्रै विरोध गरेर सर्वोच्च अदालतले जे भने पनि ठिक मान्ने दोधारे नीति अपनायौं भने कांग्रेसी हुनुको अर्थ र गर्व नै के रह्यो र ?” – एनपीसीसी यूकेद्धारा गत जनवरी २ मा आयोजित ४५औं राष्ट्रिय मेलमिलाम दिवस जूम समारोहमा उनले भने ।
शुभकामना मन्तव्य दिने क्रममा उनले मूल पार्टी नेपाली कांग्रेसलाई मात्रै नभएर एनपीसीसी यूकेलाई समेत सम्झाउने प्रयास गरे । उनले भने, – “जी. बी. याक्थुङबाको नेतृत्वमा सारा पूर्व गोर्खा सैनिकहरुलाई एक बनाएर नेपाली कांग्रेसले २००७ सालमा क्रान्ति सुरु गरेको थियो । आज आएर एनपीसीसी यूकेले पूर्व गोर्खाहरुलाई समेट्न र सम्मान गर्न भुल्नु हुँदैन ।”
त्यस्तै गरी उनले एनपीसीसी यूकेले हालैमा आफ्नो स्थापनाको उद्देश्यबाट केही बिचलित भएजस्तो गरी च्यारिटीका कार्यक्रमहरुमा रुमल्लिरहेकोमा नेतृत्व वर्गप्रति कटाक्ष गरे । उनले भने – “एनपीसीसी यूके भनेको पासा पुच: गुठी वा गुल्मी समाज होइन, यो नितान्त सैदान्तिक र वैचारिक पार्टी हो र यसले सोही बमोजिमका कार्यक्रमहरु ल्याउनु पर्दछ।”
सम्बन्धित समाचार::