April 21, 2025, Monday
२०८२ बैशाख ९
1:37:26 pm

बेलायतमा तेह्रौं नेपाली मेलाको तयारी पुरा(भिडियो)

5.1K

लण्डन । बेलायतमा हरेक साल लाग्ने नेपाली मेला यस पटक पनि भव्य रुपमा आयोजना गरिने भएको छ । आयोजक संस्था तमू धीं यूकेले यही आइतबार २१ अगस्टमा एक पत्रकार सम्मेलनको आयोजना गरेर मेलाको तयारी ९० प्रतिशत पुरा भइसकेको र आगामी अगस्ट २७ भित्रमा पूर्ण रुपले तयारी भइसक्ने जानकारी गराइयो ।

तमुधीं यूकेले मिचेटस्थित आफ्नो सामुदायिक नेपाली भवनमा पत्रकार सम्मेलन गरेर मेलाको तयारीबारे जानकारी गराएको हो । मेलाको नारा ‘हाम्रो संस्कृति, हाम्रो पहिचान, हाम्रो गौरव’ रहेको छ ।

तेह्रौं नेपाली मेला २०२२ सदा झैं यस पटक पनि पश्चिम लण्डनको केम्प्टन पार्क रेस कोर्स मैदानमा आगामी आइतबार २८ अगस्टका दिन हुने भएको छ । मेला बिहान १० बजे सुरु भएर साँझ ८ बजेसम्म लाग्नेछ ।

Advertisement

नेपाली मेला २०२२ को सहआयोजक लण्डनस्थित नेपाली राजदूतावास रहेको छ । बेलायतमा रहेका बिभिन्न संघसंस्था र आ–आफ्नै मौलिक विशेषता बोकेका नेपाली समुदायहरुलाई एकै ठाउँमा ल्याएर उनीहरुको संस्कृति र पहिचानको प्रदर्शन र प्रवद्र्धन गर्न र गराउने उद्देश्यले विगत १३ बर्षदेखि नेपाली मेला आयोजना हुँदैआएको छ । जसको लागि यस पटक नेपाली दूतावासले समेत खर्च व्यहोर्ने भएको छ ।

मेला आयोजना गर्नुका प्रमुख उद्देश्यहरु प्रकाश पार्दै आयोजक संस्था तमू धीं यूकेका बरिष्ठ उपाध्यक्ष तथा मेला आयोजनाका संयोजक हरी गुरुङले भने, ‘नेपाली मेलाले बेलायतमा रहेका बिभिन्न नेपाली समुदायबीच आपसी सदभाव, प्रेम र भातृत्वको विकास मात्रै गर्ने नभएर यसले स्थानीय समुदाय (बेलायतीहरु) संघ हामीलाई घुलमिल भएर बस्न सिकाएको छ।’ उनले नेपाली मेलाले नेपाली वस्तु र सेवाको प्रवद्र्धन गर्ने र नेपालको पर्यटन उद्योगलाई समेत टेवा दिंदैआएको बताए ।

मेलामा जाने १२ बर्षभन्दा माथिकाहरुका लागि प्रवेश शुल्क पाँच पाउण्ड तोकिएको छ भने कार पार्किङको शुल्क दिनभरिका लागि ५ पाँच पाउण्ड र बस पार्किङको १० पाउण्ड तोकिएको छ ।

मेलामा सदा झैं विभिन्न जातीय तथा क्षेत्रीय नेपाली संघसंस्थाहरुले आआफ्ना झाँकीहरु प्रदर्शन गर्ने छन् । झाँकी (भेषभुषा, नृत्य, संगीत आदि) प्रदर्शनमा प्रथम हुने संस्थाले ५०० पाउण्ड, द्धितीय हुनेले ३०० पाउण्ड, तृतीयले २०० पाउण्ड पाउनेछन् भने २०० पाउण्डको दुई वटा सान्तवना पुरस्कार पनि राखिएको छ । मेलामा जम्मा ३२ वटा संघसंस्थाहरुले भाग लिने छन् ।

त्यस्तै, मेलामा राफल ड्र पनि हुनेछ । राफल ड्रको प्रथम पुरस्कार १ तोला सुनको प्रायोजन अनुग्रह ज्वेलर्सले गर्ने भएको छ । द्धितीय र तृतीय पुरस्कार भने आइप्याड राखिएको छ । एउटा आइप्याड गोर्खा ट्राभल्सका दिलरस गुरुङले र अर्को आइप्याड एभरेस्ट लिंकका सुमन गुरुङले प्रायोजन गर्ने छन् ।

मेला आयोजनाको लागि जम्मा ३२ हजार पाउण्ड जति खर्चको प्रक्षेपण गरिएको छ । तर तमू धीं यूकेका आफ्नै सदस्यहरु, नेपाली दूतावास, अन्य व्यक्ति, संघसंस्था, शुभेच्छुक, प्रायोजक र बिभिन्न माध्यमबाट आउने रकमले मेलाको लागत झण्डै पुरा गर्न सकिने संयोजक हरी गुरुङले पत्रकारहरुलाई बताए ।

आयोजकका अनुसार यस पटक नेपाली मेलामा बेलायतका लागि बंगलादेशका हाइ कमिशनर साइदा मुना तसनीम पनि विशेष अतिथिको रुपमा सरिक हुने छिन् । त्यस्तै, हाल बेलायत भ्रमणमा आएका जीवराम भण्डारी, टीकाराम यात्री, राजेन्द्र बानियाँलगायत नेपालका दश बरिष्ठ पत्रकारहरु पनि मेलाका खास आकर्षण हुने भएका छन् ।

तमू धीं यूकेका अध्यक्ष हितकाजी गुरुङको अध्यक्षतामा भएको प्रेस मीटको सञ्चालन महासचिव पर्शु गुरुङले गरेका थिए । प्रेस मीटमा नेपाली लिंक डट कमका सम्पादक तथा नेपाल पत्रकार संघ यूके शाखाका अध्यक्ष ध्रुवराज अर्याल, नेपाल मामिला डट कमका प्रधान सम्पादक तथा एनआरएनए यूकेका महासचिव खुशी लिम्बू, फोनिज यूकेकी अध्यक्ष गोमा रानालगायत बेलायतका प्रमुख नेपाली मिडियाका सबै पत्रकारहरु उपस्थित थिए । तमू धीं यूकेका मिडिया सचिव सविन्द्र कुमार गुरुङले उपस्थित सबै पत्रकारहरुलाई परिचयसहित प्रेस मीटमा प्रस्तुत गरेका थिए ।

पत्रकार सम्मेलनको अवसर पारेर तमू धीं यूकेले हाल बेलायत भ्रमणमा रहेका ल्वाङ घले समाजका समाजेसेवी देवराज गुरुङ, मसैकु आमा समुह ल्वाङका अध्यक्ष डम्मर कुमारी गुरुङ साथै चार भन्ज्याङका सफल व्यवसायी तथा तमू धीं यूकेका आजीवन सदस्य बिजय गुरुङ र सम्झना गुरुङ साथै लमजुङ समाज युकेका नव निर्बाचित अध्यक्ष दल बहादुर गुरुङ र तारा गुरुङलाइ सम्मान गर्यो । साथै उक्त अवसरमा रेस फर लाइफ च्यारिटीको लागि उठेका ११३१ पाउण्ड पनि तमूधीं यूके आमा समूहकी अध्यक्ष सीता गुरुङलाई हस्तान्तरण गरियो ।