April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

एनआरएनए अध्यक्षमा कुल आचार्य,डा. बद्री केसी र रविना थापा चयन

3.8K

काठमाडौ- गैरआवासीय नेपाली संघ (एनआरएनए) अध्यक्षमा तीन जना सर्वसम्मत रुपमा चयन भएका छन् । संघको काठमाण्डौंमा सम्पन्न १० औं महाधिवेशनले अध्यक्ष पदमा कुल आचार्य,रविना थापा र डा. बद्री केसीलाई सर्वसम्मतले चयन गरेको हो । 

अध्यक्षहरुको कार्यकाल ६/६/६ महिना रहने प्रावधान रहेकोमा पहिलो छ महिना कुल आचार्य दोस्रो छ महिना रविना थापा र तेस्रो छ महिना डा. केसीले संघको नेतृत्व गर्ने गरि सहमती जुटाईएको संघका निवर्तमान अध्यक्ष कुमार पन्तले महाधिवेशन समापन कार्यक्रममा बताऊनु भएको छ। संघको उपाध्यक्षहरुमा प्रकाश गुरुङ डा. हेमराज शर्मा, महेश श्रेष्ठ, भुषण घिमिरे, डिबी क्षेत्री, धर्मराज अधिकारी, दुर्गा आचार्य, आरके शर्मा लगायत ११ जना चयन भए ।

यस्तै महासचिवमा गौरीराज जोशी र डा. केशव पौडेल चयन भएका छन् । महिला उपाध्यक्षमा विष्णुमाया परियार र यस्मिन बेगम चयन भए । ऊप- महासचिवमा विनय अधिकारी, ओम गुरुङ, रामशरण सिमखडा लगाएत ६ जना चयन भए ।
आइतबार विधान संशोधनमार्फत तीन जना अध्यक्ष हुने गरी भागवण्डालाई सहज बनाइएको हो । संघभित्रका तीन समूहको व्यवस्थापन हुने गरी पदाधिकारीको संख्या पनि बढाइएको छ ।

Advertisement

संसोधित विधान अनुसार अध्यक्ष ३, उपाध्यक्ष ११,महासचिव २,उप महासचिव ६, सचिव १० जना हुने व्यवस्था गरिएको छ । त्यस्तै कोषाध्यक्ष ३, सह-कोषाध्यक्ष ८, महिला सहकोषाध्यक्ष-३, प्रवक्ता २ जना हुने व्यवस्था गरिएको छ ।

संसोधित विधान अनुसार महिला संयोजक २,युवा संयोजक २,क्षेत्रीय संयोजक २,क्षेत्रीय उपसंयोजक युरोप क्षेत्र ७ र अन्य क्षेत्र ५ को व्यवस्था गरिएको छ ।

क्षेत्रीय महिला संयोजकको संख्या बढाएर ३ जना, क्षेत्रीय युवा संयोजक २,क्षेत्रीय महिला उप संयोजक २ र क्षेत्रीय युवा संयोजक २ जना हुने व्यवस्था गरिएको छ ।

संसोधित विधान अनुसार एनआरएनको पदाधिकारी संख्या नै ९५ जनाको हुनेछ ।