लण्डन । बेलायतको स्कटल्याण्ड राज्यमा यही मार्च २० मा हुने जनगणनामा नेपाली मूलका मानिसहरुलाई विभिन्न प्रश्नमा नेपाली लेख्ने सुविधा दिइएको छ ।
सधैँ एकैपटक जनगणना हुने बेलायतमा यसपटक फरक–फरक समयमा जनगणना भएको हो । महामारीका कारण चार राज्यमा गत वर्ष नै जनगणना भइसकेको छ भने स्कटल्याण्डमा मार्च २० मा हुन लागको एनआएनए युकेका उपाध्यक्ष मोहन कार्कीले जानकारी दिए ।
कार्कीका अनुसार स्कटल्याण्डमा पनि बेलायतका अन्य राज्यहरुमा जस्तै अनलाइनबाट वा कागजको फाराम घरमै मगाएर जनगणनामा भाग लिन सकिने छ । अनलाइनबाट फाराम भर्दा ‘जन्म देश’ सम्बन्धी प्रश्नमा ‘इल्सह्वेर’ छानि ड्रपडाउन मेनुबाट ‘नेपाल’ छान्न सकिने छ ।
मुख्य भाषाको प्रश्नमा पनि ड्रप डाउन मेनुबाट ‘नेपाली’ रोज्न सकिने छ ।
यस्तै, “कहाँको राहदानी बोक्नुहुन्छ?” भन्ने प्रश्नमा पनि ‘नेपलिज’ छनौट गर्ने अवसर दिइएको छ ।
त्यस्तै, “न्याशनल आइडेण्टिटी?” सम्बन्धी प्रश्नमा पनि ‘नेपलिज’ छान्न सकिने छ । कसैले ‘गोरखा’ राख्न चाहेमा त्यसलाई पनि रोज्न सकिने छ ।
“तपाईंको इथ्निक समूह के हो?” भन्ने प्रश्नमा भने स्कटिस एसिएन, ब्रिटिश एसिएन छानेर त्यसभित्र ‘अदर’ छाने पछि ‘नेपलिज’ छान्न पाइन्छ ।
कागजको प्रश्नावलीमा प्रश्न नम्बर ९ मा “तपाईंको जन्मदेश कहाँ हो?” भन्ने प्रश्न छ भने प्रश्न नम्बर १६ मा “तपाईंको मुख्य भाषा के हो ?” भन्ने प्रश्न छ । प्रश्न नम्बर २२ मा “तपाईंलाई आफ्नो राष्ट्रिय पहिचान के हो जस्तो लाग्छ?” भन्ने प्रश्न छ भने प्रश्न नम्बर २३ मा “तपाईंको जातीय समूह के हो?” भन्ने प्रश्न छ ।
कागजको प्रश्नावली भर्नेहरुले नेपाली लेख्न चाहेमा खाली बाकसमा लेख्नुपर्ने पनि कार्कीले जानकारी दिए ।
उपाध्यक्ष कार्कीले स्कटल्याण्डको जनगणनामा नेपाल र नेपाली छनौट गर्ने सुविधा दिइएकोमा खुशी व्यक्त गरे । उनले स्कटल्याण्डबासी नेपालीहरुलाई जनगणनामा नछुट्न अपील समेत गरेका गर्छन् ।