लन्डन । गैर-आवासीय नेपाली संघ (एनआरएनए) यूकेले संयुक्त अधिराज्य बेलायतका लागि नवनियुक्त राजदूत ज्ञानचन्द्र आचार्यलाई आगामी आइतबार औपचारिक रुपमा स्वागत तथा अभिनन्दन गर्ने भएको छ ।
बेलायतका लागि नेपालको २२औं राजदूतका रुपमा ज्ञानचन्द्र आचार्य यही बुधबार लन्डन आइपुग्दैछन् ।
एनआरएनए यूकेका प्रवक्ता भरतमणी चोङबाङका अनुसार कार्यक्रम यही फेब्रुवरी २७ तारिख दिउसो एम्पायर हलमा हुने भएको छ । दिउँसो २ बजे अल्डरसटस्थित एनआरएनए यूकेको आफ्नै कार्यालयमा स्वागत गरेपछि राजदूत आचार्यलाई बाजागाजासहित कार्यक्रमस्थल एम्पायर हल लगिने कार्यक्रम छ।
दिउसो २ देखि सांझ ८ बजे सम्मका लागि तय भएको उक्त कार्यक्रममा एनआरएनए यूके प्रमुख संरक्षक, प्रमुख सल्लाहकारहरु, सल्लाहकारहरु, पूर्व अध्यक्षहरु, एनआरएनए आइसीसी सल्लाहकारहरु, निर्वाचित आइसीसी सदस्यहरु तथा आइसीसी उम्मेदवारहरु लगायत बेलायतस्थित विभिन्न नेपाली संघसंस्थाका तीनसय भन्दा बढी प्रतिनिधि सहभागी हुनेछन् ।
गैर-आवासीय नेपाली संघ यूकेका चार वटै राज्य समन्वय परिषदहरु – नर्दन आयरल्याण्ड, वेल्स्, स्कटल्याण्ड र इंगल्याण्ड – का विशिष्ट व्यक्तित्व, अभियन्ताहरु र बुद्धिजिवीहरु कार्यक्रममा सहभागी हुने जनाइएको छ ।
अध्यक्ष गाहामगरले सम्बन्धित सबैलाई कार्यक्रमको निम्तो पठाइसकिएको जनाउँदै कुनै त्रुटीबस औपचारिक निम्ता नपुगेको भए यसै समाचारलाई आधार मानेर कार्यक्रममा उपस्थित भइदिन सबैमा अनुरोध गरेका छन् । साथै उनले समस्त नेपाली संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिलाई आफ्नो संस्थाको तर्फबाट राजदूत आचार्यलाई स्वागत सम्मान गरिदिन पनि अनुरोध गरेका छन् ।
संयुक्त अधिराज्य बेलायतले एक अनुभवी कूटनीतिज्ञ राजदूतका रुपमा पाएकोमा खुशी व्यक्त गर्दै अध्यक्ष गाहामगरले संघ सदा झैं नेपाली राजदूतावास लन्डनसंग हातेमालो गरि देश–विदेशमा रहेका नेपालीका हकहित र सेवाका लागि गतिशील रहन प्रतिवद्ध रहेको पनि बताए ।
संघका उपाध्यक्ष रामचन्द्र पोखरेलको संयोजनमा कार्यक्रम हुन लागेको हो ।