April 18, 2025, Friday
२०८२ बैशाख ५
1:37:26 pm

युवराज गुरुङ दोश्रो पटक जनसम्पर्क समिति बेलायतको सभापति

6.1K

लण्डन । नेपाली जनसम्पर्क समिति बेलायत (एनपीसीसी यूके) को आगामी कार्यकालको लागि युवराज गुरुङ पुनः सभापति हुने भएका छन् । गत सेप्टेम्बर २६ मा बसेको समितिको वृहत बैठकबाट गुरुङको नेतृत्वका लागि पुनः सहमति जुटेको हो ।

सभापति पदका अन्य दावेदारहरु – शेरबहादुर सुनार, केशबहादुर गुरुङ, तर्कजंग गुरुङ, महेश दाहाल र कोपिला सुब्बा – ६ जना नै नेपाली काँग्रेसको चौधौं महाधिवेशनमा प्रतिनिधि भएर जान पाउने भएपछि वर्तमान सभापति युवराज गुरुङलाई दोस्रो पटक सभापति बन्ने अवसर बल्ल जुटेको हो ।

पार्टीको जुनसुकै तहमा कार्यकारी पदमा रहेर काम गरे पनि राष्ट्रिय महाधिवेशनमा प्रतिनिधि हुनु पार्टी करिअरमा ठूलो फड्कोको रुपमा लिने गरिन्छ । युवराज गुरुङलाई दोश्रो पटक सभापति बन्न बाटो खुला गरेर अध्यक्षका अन्य आकाँक्षीहरुले त्यो सुनौलो अवसर हात पारेका छन् ।

Advertisement

नेपाली काँंग्रेसको २ हजार जना भन्दा बढी क्रियाशील सदस्यहरु रहेको बेलायतबाट बढीमा १४ जना प्रतिनिधिहरु चौधौं महाधिवेशनमा मतदान गर्न आगामी मंसिरमा काठमाण्डौं जाँदैछन् ।

बैठकले बाँकी अन्य ७ जना प्रतिनिधिहरु को को जाने भनी छनौट गर्ने जिम्मेवारी पनि सभापति युवराज गुरुङलाई नै दिइएको छ ।

सभापति पदका लागि सहमति जुटेसंगै एनपीसीसी यूकेको आगामी पाँचौं अधिवेशनमा बाँकी सबै पदहरुमा सहमति जुट्ने सम्भावना रहेको छ ।

बैठकमा एनपीसीसी यूकेको पाँचौं अधिवेशन कहिले गर्ने भन्ने विषयमा मिति नतोकिए पनि नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा आगामी अक्टोबर महिनाको अन्त्यतिर बेलायत भ्रमण गर्नु हुने मौकामा उहाँकै प्रमुख आतिथ्यतामा अधिवेशन सम्पन्न गर्ने निर्णय भएको छ ।

प्रधानमन्त्री देउवा आगामी नोभेम्बर १ बाट स्कटल्याण्डमा हुन गइरहेको विश्व जलवायु परिवर्तन तथा वातावरण संरक्षणका लागि हुने विश्व सम्मेलनमा भाग लिन बेलायत आउँदै हुनुहुन्छ ।

एक पटक अधिवेशन स्थलको निधो भइसकेपछि अक्टोबर ३० वा केही दिनको फरक पारेर अधिवेशन सम्पन्न गर्ने योजना समितिको रहेको छ ।