लण्डन – भूतपूर्व गोर्खाहरू समान पेन्सनलगायत माग राख्दै बेलायती प्रधानमन्त्री कार्यालय अगाडि बसेको आमरण अनसनप्रति गोर्खा भूतपूर्व सैनिक संघ (गेसो) ले समर्थन जनाएको छ ।
गत जुलाई २१ तारिखबाट १७ दिन २४ घन्टे रिले अनसन पूरा गरि विगत १२ दिनदेखि आमरण अनसनमा रहेका गोर्खा सत्याग्रह संयुक्त सङ्घर्ष समितिका अभियान निर्देशक ज्ञानराज राई, सचिव धन गुरुङ र महिला अभियन्ता पुष्प राना घलेलाई गेसोले आफ्नो समर्थन जनाएको हो ।
बुधबार एक विज्ञप्ती जारी गर्दै गेसोले उक्त आमरण अनसनको सर्मथन जनाएको हो ।
विज्ञप्तीमा भनिएको छ ।
‘१८/०८/२०२१
प्रेस विज्ञप्ती
लण्डन १० डाउनीङ स्ट्रीट प्रधानमन्त्री कार्यालय अगाडि हाम्रो भु.पू. गोर्खा सैनिकको हक र अधिकारको लागि आमरण अनसनमा बस्नु भएको आज १२ औँ (12th) दिन भएको छ । यस अनसनमा बस्नुभएको सत्याग्रहका सदस्यहरु भु.पू. सैनिक ज्ञानराज राई, धन बहादुर गुरुङ र पुष्प राना घले लाई हामी पूर्ण समर्थन गर्दछौँ ।
Mr. Bhakta Bahadur Gurung
Vice Chairman (GAESO)
कार्यकारिणी अध्यक्ष
(साल्मे डाडाँ गोर्खा हेरिटेज यू.के)’
समानताको लडाइँमा आफूहरू मर्न तयार रहेको जनाउँदै उनीहरू भोक हडताल छाड्ने मनस्थितिमा छैनन् यद्यपि उनीहरूको स्वास्थ्य अवस्था दिनप्रतिदिन जटिल बन्दै गइरहेको छ ।
आमरण अनसनको विषयलाई विभिन्न राष्ट्रिय मिडियाहरूले समेत निकै चासोका साथ हेर्दै आएका छन् । बेलायतको मुख्य विपक्षी दल लेबर पार्टीले भूतपूर्व गोर्खा सैनिकले गरिरहेको आन्दोलनमा ऐक्यबद्धता जनाएको छ भने संसद्मा समेत आवाज उठाएको छ ।