काठमाडौं–वैदेशिक रोजगार विभागले कतार पुलिसमा जाने भन्दै पैसा र पासपोर्ट बुझाएकाहरुलाई सम्पर्कमा आउन आग्रह गरेको छ। उनीहरुलाई ३० दिनभित्र उपस्थित हुन विभागले आग्रह गरेको हो।
म्यानपावर कम्पनीमा पैसा तथा पासपोर्ट बुझाएकाहरुले यथेष्ट प्रमाणसहित वैदेशिक रोजगार विभाग, श्रम कार्यालय तथा नजिकैको प्रहरी कार्यालयमा समेत उजुरी दिन सक्ने विभागले जनाएको छ।
यसअघि केही म्यानपावरहरुले पूर्व स्वीकृति नै नलिएको डिमाण्ड देखाएर युवाहरुको अन्तर्वार्ता लिइरहेको अवस्थामा विभागको अनुगमन टोलीले फेला पारि कागजातसमेत जफत गरेको थियो। एसओएस म्यानपावर, डीडी ह्युमन रिसोर्सेस र होप इन्टरनेशनल म्यानपावरले अनधिकृत अन्तर्वार्ता लिइरहेको अवस्थामा विभागले छापा मारेको थियो।