लन्डन । आफ्ना गोरा सहकर्मीहरु सरहको पेन्सन र अन्य अधिकारहरुको माग सहित लन्डनमा भूतपूर्व गोर्खाहरुले जारी राखेको आन्दोलनमा ग़ैर–आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद यूकेको सधै साथमा रहने संघका अध्यक्ष प्रेम गाहा मगरले बताएका छन् ।
गत मंगलबार अगस्ट १० का दिन लन्डनको १० डाउनिङ स्ट्रिटस्थित बेलायती प्रधानमन्त्री निवासबाहिर अमरण अनसनमा बसिरहेका गोर्खा सत्याग्रह संघर्ष समितिका अभियन्ताहरूसगको भेटमा गाहा मगरले यस्तो बताएका हुन् ।
त्यस अवसरमा अध्यक्ष गाहा मगरले गोर्खाहरुको समान अधिकार प्राप्तिको लडाईंमा ग़ैर–आवासीय नेपाली संघ बेलायतको तर्फबाट पूर्ण साथ, समर्थन र ऐक्यवद्धता प्रकट गरे ।
भेटघाटको अवसरमा उपस्थित मिडियाहरुसंग कुरा गर्दै अध्यक्ष गाहा मगरले गोर्खालीहरुका लागि समानता र न्यायको यो मुद्दा धेरै लामो भइसकेको भन्दै अब यसलाई अन्तिम निचोडमा लैजान र आफ्ना वीर गोर्खाली पूरर्खाहरूले बेलायतमा रहेर गरेको योगदान लाई यहा्ँका बेलायती सरह समान हक़ अधिकार दिलाउनमा आफ्नो नेतृत्वको एनआरएनए यूके सधैं तत्पर रहने बताए ।
“अब गोर्खाहरुको मुद्धा भूपू सैनिकहरुको मात्र रहेन । सिंगो नेपाल र सबै नेपालीसँग पनि जोडिएको यो मुद्धामा हामी संघका अभियन्ताहरूको पूर्ण साथ, समर्थन र सहयोगको प्रतिवद्धता जनाउन चाहन्छौँ’,” अध्यक्ष मगरले भने ।
त्यस्तै आमरण अनसनमा बस्नेमध्येका एक अभियन्ता ज्ञानराज राईले गोर्खाहरुको अभियान सफलतामा पुग्न सबै बेलायतमा रहनु हुने प्रवासी नेपाली समुदायको उत्तिकै भूमिका महत्वपूर्ण रहने धारणा राखे । उनले आफूहरु अहिले अन्तिम चरणको संघर्षमा रहेको भन्दै उनले आन्दोलनको पक्षमा जनमत बनाउने कार्यमा बेलायतमा रहेका सबै मिडियाको सहयोगको अपेक्षा रहेको समेत बताए ।
गोर्खा सत्याग्रह संघर्ष समितिका ज्ञानराज राई, धन गुरुङ र पुष्पा घले राणासहितका तीन अभियन्ता गत शनिबारदेखि आमरण अनसनमा छन् ।
समितिका अनुसार अहिलेसम्म बेलायत सरकारले कुनै रेस्पोन्स गरेको छैन । १० डाउनिङ स्ट्रिटस्थित बेलायती प्रधानमन्त्री निवासबाहिर रहेको अनसनस्थलमा लगाइएको त्रिपाल मंगलबार बिहान बेलायती प्रहरीले हटाइदिएको थियो ।
भेटघाटमा अध्यक्ष प्रेम गाहा मगरका साथ महासचिव खुशी लिम्बु र आइसीसी सदस्य समीर खनाल उपस्थित थिए ।