April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

एनआरएन यूके निर्वाचन प्रमुख कँडेलको निष्पक्षतामा उपाध्यक्ष प्रेम गाहाको आपत्ति (विज्ञप्ति सहित)

3.8K

लण्डन । गैर आवासीय नेपाली संघ, यूकेको ३१ जुलाईमा हुने निर्वाचनका लागि निर्वाचन समिति गठनमा भइरहेको ढिलाई र समितिमा सदस्यहरु नियुक्तिमा देखिएको चलखेलप्रति एनसीसी यूकेका उपाध्यक्ष तथा अध्यक्ष पदका उम्मेदवार प्रेम गाहा मगरले आपत्ति जनाएका छन् ।

समिति गठनमा भइरहेको ढिलाइका बारेमा पटक पटक ध्यानाकर्षण गराइसकेको बताउँदै गाहा मगरले जवाफमा निर्वाचन प्रमुखले सहमतिमा नै समितिलाई पूर्णता दिने बताउने गरेको उनीद्वारा जारी प्रेस वक्तव्यमा जनाइएको छ । तर, निर्वाचन समितिलाई पूर्णता दिने नाममा निर्वाचनका उम्मेदवारलाई नै झुक्याउने र समाजमा विवादित तथा राजनीतिक व्यक्तिहरुलाई समितिमा मनोनयन गर्ने तयारी भइरहेको उनले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

निर्वाचन प्रमुखले समितिमा मनोनयनका लागि अध्यक्षका उम्मेदवारहरुबाट एक, एक जना प्रतिनिधिको नाम मागेको र आफूँले समाजमा सुपरिचित एक जना काउन्सिलरको नाम सिफारिस गरेको उल्लेख गर्दै गाहा मगरले भनेका छन्, ‘तर अहिले आफैले दिएको वचन विरुद्ध निर्वाचन समितिका प्रमुखले बेलायतस्थित विभिन्न राजनीतिक पार्टीका नेताहरुलाई समितिमा मनोनयन गर्न लागेको थाहा पाउंदा म आश्चर्यचकित भएको छु।’ गाहा मगरले निर्वाचन प्रमुखको पछिल्ला गतिविधिले एनआरएनए युकेको आगामी चुनाव स्वतन्त्र र निस्पक्ष हुनेमा गम्भीर आशंका उत्पन्न भएको बताएका छन्।

Advertisement

विज्ञप्तिमा उनले ‘चुनावको नाममा धांधली गर्न दक्षता हासिल गरेका विवादित व्यक्तिलाई समावेश गरेर उहांले कस्तो निर्वाचन गर्न खोजेको हो?’ प्रश्न गर्दै भनेका छन् ‘यस्तो कुनै पनि प्रयास बेलायतको सचेत नेपाली समाजले स्वीकार नगर्ने जानकारी गराउन चाहन्छु।’ अध्यक्षका प्रत्यासी गाहा मगरले निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र धाँधलीरहित बनाउन स्वच्छ छविका व्यक्तिहरु सम्मिलित निर्वाचन समिति गठन गर्न पनि माग गरेका छन् । ‘समाजमा प्रतिष्ठित, स्वतन्त्र र स्वच्छ छविका व्यक्तिहरु समावेश गरेर मात्रै निर्वाचन समिति गठन गर्न जोडदार माग गर्दछु।’ उनले भनेका छन् । गत मार्चमा बसेको एनआरएन एनसीसी यूकेको कार्यसमिति बैठकले निर्वाचन समितिको संयोजकमा पूर्व अध्यक्ष महेन्द्र कँडेललाई नियुक्त गरेको थियो । निर्वाचनको मिति नजिकिँदा पनि पाँच सदस्यीय निर्वाचन समितिले पूर्णता भने पाउन सकेको छैन ।

अध्यक्षका उम्मेदवार प्रेम गाहा मगरद्वारा जारी प्रेस वक्तव्य प्रेस वक्तव्य जस्ताको तस्तै :

गैरआवासीय नेपाली संघ युकेको आउंदो ३१ जुलाई २०२१ मा हुन गैरहेको निर्वाचन सम्पन्न गराउन निर्वाचन समिति गठन गर्न भै रहेको ढिलाई प्रति हामीले ध्यानाकर्षण गर्दै आएका हौँ।

यसै बीच निर्वाचन समितिका प्रमुखले सबै उम्मेदबारहरुसंग निर्वाचन समितिमा मनोनयनका लागि १,१ जना प्रतिनिधि माग्नु भयो । त्यसै अनुरुप मैले नेपाली समाजमा सुपरिचित एकजना काउन्सिलरको नाम सिफारिस गरें र त्यस्तै निस्पक्ष व्यक्तिहरु समितिमा राख्न सुझाव पनि दिएँ। उहांले हुन्छ भन्नु भयो। तर अहिले आफैले दिएको वचन विरुद्ध निर्वाचन समितिका प्रमुखले बेलायतस्थित विभिन्न राजनीतिक पार्टीका नेताहरुलाई समितिमा मनोनयन गर्न लागेको थाहा पाउंदा म आश्चर्यचकित भएको छु। यस्तो कदमले एनआरएनए युकेको आगामी चुनाव स्वतन्त्र र निस्पक्ष हुनेमा गम्भीर आशंका उत्पन्न भएको छ। चुनावको नाममा धांधली गर्न दक्षता हासिल गरेका विवादित व्यक्तिलाई समावेश गरेर उहांले कस्तो निर्वाचन गर्न खोजेको हो? यस्तो कुनै पनि प्रयास बेलायतको सचेत नेपाली समाजले स्वीकार नगर्ने जानकारी गराउन चाहन्छु। समाजमा प्रतिष्ठित, स्वतन्त्र र स्वच्छ छविका व्यक्तिहरु समावेश गरेर मात्रै निर्वाचन समिति गठन गर्न जोडदार माग गर्दछु।

प्रेम गाहा मगर उपाध्यक्ष, एनआरएनए युके तथा, अध्यक्ष पद को उम्मेदवार (२०२१–२३) जुलाई ४, २०२१ लण्डन