April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

आठौँ प्रदेशका रूपमा लिम्बुवान स्थापना गररै छाड्नेछौँ: जसपा लिम्बुवान राष्ट्रिय समिति

7K

अमित याकथुंग्बा, लन्डन – संविधानको धारा संशोधन गर्दै आठौँ प्रदेशका रूपमा लिम्बुवान प्रान्त स्थापना नभएसम्म सङ्घर्ष जारी राख्ने जनता समाजवादी पार्टी लिम्बुवान राष्ट्रिय समितिले बताएको छ ।

सात प्रदेशले आफूहरूको माग सम्बोधन गर्न नसक्ने भन्दै संविधानको धारा संशोधन गरेर भएपनि लिम्बुवान आन्दोलनलाई निष्कर्षमा पु¥याउनुपर्ने समितिले धारणा अघि सारेको हो । लिम्बुवान समाज यूकेले आयोजना गरेको संवाद कार्यक्रममा बोल्दै जसपाका केन्द्रीय सदस्य एवम् लिम्बुवान राष्ट्रिय समिति अध्यक्ष खगेन्द्र माखिमले कोरोना महामारीका कारण मात्रै तत्काल सडक आन्दोलन नचर्केको उल्लेख गरे । ‘कोरोना महामारी नहुँदो हो त यतिबेला हामी सडकमा आन्दोलन गर्दै हुने थियौँ । संविधान संशोधन गराउने गरी आन्दोलन चर्काउने तयारी थियो,’ नेता माखिमले भने, ‘अहिले हामी शक्ति सञ्चय गर्दै सङ्गठन विस्तारमा लागेका छौँ ।’ साठीको दशकमा सुदूरपूर्वी क्षेत्रमा चर्किएको लिम्बुवान आन्दोलनका प्रभावशाली नेतामध्येका एक माखिमले पार्टीले अगाडि सारेको दश जोड एक प्रदेशमा लिम्बुवान अट्ने बताए ।

उनले पार्टीमा १५ भन्दा बढी सङ्गठनहरूको एकता भएको भन्दै लिम्बुवान आन्दोलनको पृष्ठभूमिबाट आएकाहरूको पनि सम्मानजनक उपस्थिति रहेको जनाए । ‘अबको आन्दोलन राष्ट्रिय पहिचान जनसङ्घर्ष समितिबाट हुनेछ । यसमा लिम्बुवान लगायत एघार राष्ट्रिय समितिहरूको सहभागिता रहनेछ,’ उनले थपे । अध्यक्ष माखिमले आगामी सङ्घीय र प्रादेशिक चुनावबाट पार्टीलाई तेस्रोबाट अझ माथिल्लो तहमा पु¥याउने गरी सङ्गठन खटिरहेको बताए ।

यसैगरी, समितिका मुख्य सचिव केदार धिमालले लिम्बुवान स्थापना गर्न प्रदेश एकको २८ वटा निर्वाचन क्षेत्रहरूमा सङ्गठन विस्तार भइरहेको बताए । उनले लिम्बुवान आन्दोलनमा सबै समुदाय, वर्ग र क्षेत्रहरूको सहयोग जुट्नेमा आफूहरू विश्वस्त रहेको जनाए । ‘लिम्बुवान प्रदेश सबैको साझा घर हुनेछ । ऐतिहासिक पृष्ठभूमिलाई सम्मान गर्न र लामो समययता निरन्तर रूपमा चलिरहेको आन्दोलनलाई राजनीतिक हिसाबले व्यवस्थापन गर्न लिम्बुवान प्रदेश चाहिएको हो,’ उनले भने, ‘थातथलो खुल्नेका लागि स्वायत्तता र अन्यलाई स्वशासनमार्फत पहिचान कायम गर्ने व्यवस्था हुनेछ ।’ कुनै समय विद्यार्थी आन्दोलनका नेता समेत रहेका धिमालले पार्टीले भ्रष्टाचारविरोधी अभियानमा समेत सामेल भएर वैकल्पिक राष्ट्रिय शक्तिका रूपमा उभ्याउनुपर्नेमा जोड दिए ।

जुममार्फत भएको संवादमा समितिका सल्लाहकार विजय लुम्फुङ्वाले लिम्बुवान आन्दोलनका लागि पार्टीले सटिक नारा तय गर्नुपर्ने सुझाए । त्यस्तै, अर्का सल्लाहकार नरेन्द्र माबोहाङले लिम्बुवानको इतिहास नेपालको इतिहासभन्दा जेठो रहेको भन्दै आन्दोलनका लागि पार्टीमा सबैलाई गोलबद्ध हुन आह्वान गरे । संवादमा नेपाली समाज यूकेका पूर्व केन्द्रीय सदस्य अमित थेवे, लिम्बुवान समाजका पूर्व अध्यक्षहरू लोकेन्द्र तबेबुङ, दिलसिङ मेन्याङ्वो, मान तबेबुङ, सचिव छन्त वनेम, सदस्य टीका मादेन लगायतका नेताहरूको उपस्थिति रहेको थियो । संवाद लिम्बुवान राष्ट्रिय समितिका सचिवालय सदस्य लाहाङ चेम्जोङले सञ्चालन गरेका थिए ।

Advertisement