लण्डन – गैर आवासीय नेपाली संघ, यूकेको आसन्न निर्वाचनमा उपाध्यक्ष पदमा गोविन्द खरेलले उम्मेदवारी दिने भएका छन् ।
एनआरएनलाई पारदर्शी बनाउने र बेलायतवासी सबै नेपालीहरुको पहुँचमा पुर्याउने योजनासहित खरेलले उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन् । विस्तृत योजना भने सदस्यता अभियान पूरा भएपछि सार्वजनिक गर्ने उनले जनाएका छन् ।
खरेल हाल एनआरएन राज्य समन्वय परिषद इङ्ल्याण्डका सचिव हुन् । राज्य परिषद् इङ्ल्याण्ड र नेपाली सम्बद्ध विभिन्न संघ संस्थामा रहेर गरेको कामको अनुभवका आधारमा एनसीसीको उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेको उनको भनाइ छ ।
नेदरल्याण्ड्सदेखि यूकेसम्म
गुल्मी, वामिटक्सारका खरेल अध्ययनकै शिलसिलामा परदेशिएका हुन् । आइटीका विद्यार्थी खरेल सिंगापुर, नेदरल्याण्ड्स हुँदै आठ वर्षअघि लण्डन पुगेका थिए ।
लण्डन पुग्नुअघि उनले झण्डै आठ वर्ष नेदरल्याण्ड्समा बिताए । नेदरल्याण्ड्समा रहँदा त्यहाँको नेपाली समुदायसँग सम्बद्ध एक संस्थाको महासचिव भएर काम गरेका उनी बेलायत आएपछि विभिन्न संघ संस्थामा आबद्ध सक्रिय रुपमा लागे । लण्डनको नटिङहाममा बसोबास गर्ने खरेलले यसअघि नेपाली समाज नटिङहामको महासचिव र अध्यक्ष भएर काम गरिसकेका छन् । साझा नेपाली समाज यूकेको सल्लाहकार रहेका खरेलले यस संस्था मार्फत पनि नेपाली समुदायको हितमा थुपै्र काम गरिरहेका छन् । नेपाली समुदायको हितमा काम गर्ने क्रममा नै उनी २०१९–२०२१ कार्यकालका लागि एनआरएन इङ्ल्याण्ड राज्य समन्वय परिषद्को सचिव छनौट भएका थिए ।
एनसीसीदेखि राज्य परिषदसम्म
आइटीमा मास्र्टस गरेका खरेलमा नेटवर्किङ र मार्केटिङको राम्रो ज्ञान रहेको छ । संयुक्त राष्ट्र संघ मातहतको निकायमा रहेर पनि काम गरेको अनुभव उनीसँग रहेको छ । यही क्षमताका आधारमा उनी राज्य समन्वय परिषदको सचिव भएपनि एनसीसीका विभिन्न कामहरुमा पनि उत्तिकै रहेका छन् । एनसीसीका टेक्निकल कामहरुको समेत समन्वय गरिरहेका खरेलले नेपाली नागरिकता निरन्तरता अभियान अन्तर्गत रहेर एक पटकको नेपाली सधैंको नेपाली भन्ने नारालाई सफल पार्न लागिरहेका छन् । राष्ट्रिय समन्वय परिषदले सञ्चालन गरेको नेपाली विद्यार्थीहरुलाई सहयोग गर्ने अभियानमा पनि उनी सक्रिय रहे भने बेलायतमा थुनिएर बसेका नेपालीहरुलाई नेपाल फर्काउने विषयमा उपाध्यक्ष रामचन्द्र पोखरेलको संयोजकत्वमा गठित समितिमा रहेर पनि उनले काम गरिसकेका छन् ।
त्यस्तै, एनआरएनएको परिचय पत्र वितरण गर्ने लगायतका काममा पनि उनको सक्रियता उत्तिकै थियो । पछिल्लो पटक बेलायतले सञ्चालन गरेको राष्ट्रिय जनगणनामा नेपाली सहभागिताको विषयले उनलाई निकै व्यस्त बनायो । झण्डै दुई महिना लामो अभियान सफल भएको उनको भनाइ छ । संस्थालाई पारदर्शी र सबै नेपालीहरुको साझा संस्था बनाउने अभियान अन्तर्गत नै उपाध्यक्ष पदमा उम्मेदवार बन्न लागेको खरेलले बताए ।
त्यो सँगै गैरआवासीय नेपाली नगारिकता, नेपालमा लगानी सुरक्षा, सम्पत्तिको अधिकार, स्वदेश तथा विदेशमा रहेका नेपालीहरुको सबैखाले समस्या समाधानमा एनआरएनलाई केन्द्रित बनाउने उनको योजना छ । अहिले सदस्यता अभियान सञ्चालन भइरहेको र सदस्यता अभियान सकिएपछि विस्तृत योजना सार्वजनिक गर्ने खरेलले बताएका छन्