April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

एनआरएन यूकेको उपाध्यक्षमा तीर्थ थापाद्वारा उम्मेदवारी घोषणा

6.6K

लण्डन । गैर–आवासीय नेपाली संघ, बेलायत (एनआरएनए, यूके) को आसन्न निर्वाचनमा तीर्थकुमार थापा (ब्रुस) ले उपाध्यक्ष पदमा उम्मेदवारी दिने भएका छन् । बेलायतवासी नेपाली समुदायमा, विशेष गरी युवा पुस्ता माझ, लोकप्रिय थापालाई ‘ब्रुस’ भनेर चिनिन्छन् । । युवा पुस्ताको साथ र अग्रजहरुको आशिर्वाद लिँदै उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेको बताएका छन् ।

नेपालमा पुर्खौली घर पाल्पाको बर्मु गाँउ भई हाल बुटवल सुख्खानगरका वासिन्दा सन् २००७ देखि बेलायतको लण्डनस्थित प्लमस्टेडमा बसोवास गर्दै आएका छन्।

बेलायत प्रवेश हुनुपूर्व हङकङलाइ कर्मथलो बनाएका थापाले हङकङ हुँदादेखि नै नेपाली समुदायको हितमा काम गर्दै आइरहेका छन् । हङकङबाट शुरु भएको उनको समाजसेवा अभियान बेलायतमा पनि जारी छ ।

Advertisement

हङकङमा रहँदा तिर्थ थापा लुम्बिनी मञ्चमा आबद्ध भई ३ वर्ष भन्दा बढी समय काम गरेका थिए । हङकङबाट बेलायत पुगेपछि पनि उनले विभिन्न संघ संस्थामा रहेर नेपाली समुदायको हित र सेवामा सक्रिय छन् । हाल उनी जमघट परिवारको संस्थापक अध्यक्ष हुन् । त्यस्तै उनी मगर समाज युकेको साउथ इस्ट रिजनल सदस्य रहेका नेप्लिज युथ युकेका उपाध्यक्ष रहेका छन् । नेपाली समुदायको हितका लागि निरन्तर काम गर्ने उनको गहिरो रुची रहिआएको छ ।

हाल व्याप्त कोभिड १९ महामारीमा पनि बेलायतस्थित नेपाली समुदायको सेवासँगै मातृभूमि नेपालमा सहयोग पठाउन पनि उनी उत्तिकै सक्रिय छन् । यसअघिका प्राकृतिक प्रकोपहरुको समयमा पनि उनले विभिन्न संघ संस्थाहरुसँगको सहकार्यमा मानवीय सेवामा क्रियाशील थिए ।

सामाजिक र मानवीय सेवामा सक्रिय थापा बेलायतवासी नेपाली समुदायमा प्रिय छन् । समाजसेवामा उनको लगावकै कारण आफूलाई नेपाली समुदायले रुचाएको उनी बताउँछन् ।

समस्यामा परेका व्यक्तिहरुलाई सहयोग गर्ने आफ्नो स्वभाव तथा मिलनसार शैली र मिजासिलो बानी व्यहोराका कारण आफूलाई युवा तथा अग्रजहरुले साथ दिँदै आएको बताउँछन् । सोही आधारमा एनआरएनएको यस पटकको चुनावी अभियानमा आफूले साथ पाउने उनको विश्वास रहेको छ ।

एनआरएनमा रहेर फराकिलो रुपमा समाजसेवा गर्ने चाहनाले नै आफू उम्मेदवार बन्न लागेको उनले सिलौटी टाइम्स्लाई बताए ।