April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

यूकेबासी नेपालीले आफ्नो जन्मभूमी खोटाङलाई सम्झे, ‘अक्सिजन पठाऔं, आफन्तको ज्यान बचाऔं’ अभियान संचालन

6.1K

लण्डन । खोटाङ् सेवा समाज (खोसेस) यूकेले भर्चुअल माध्यमबाट सर्वपक्षिय अन्तक्रिया कार्यक्रम गरेको छ । खोसेसले खोटाङ्का कृयाशील राजनीतिक दलका प्रमुख, स्थानिय निकायका जनप्रतिनिधि, जिल्लाका सम्बन्धित कार्यालय प्रमुखहरु, जनप्रतिनिधिहरु र पत्रकारहरुको सहभागितामा सर्वपक्षिय भर्चुअल माध्यममा अन्तक्रिया कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा जिल्लामा कोरोनाको असर, स्थानीय स्तरबाट भइरहेका नियन्त्रणका प्रयासहरु र खोसेसद्वारा जिल्लाबासीलाई गरिने सहयोगको पारदर्शिता र प्रभावकारीताका विषयमा छलफल भएको थियो ।

खोसेस यूकेका अध्यक्ष डा. प्रमोद राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपा माओवादी केन्द्रकी केन्द्रीय सदस्य एवम् संविधान सभा सदस्य दुर्गा जयन्ती राई, जिल्ला समन्वय समिति प्रमुख बबि चाम्लिङ्ग, खोटाङ सेवा समाज यूकेका विशिष्ट संरक्षक सदस्य एवम् संस्थापक, नेपाली कांग्रेस महासमिती सदस्य रवि प्रकाश राई, प्रमुख जिल्ला अधिकारी मित्र लाल शर्मा, नेकपा माओवादी केन्द्र खोटाङ अध्यक्ष पृथ्वी किराती, नेकपा (एमाले) खोटाङ अध्यक्ष राम प्रशाद दंगाल, नेपाली कांग्रेस खोटाङ सचिव ज्ञानेन्द्र जोशी, जनता समाजवादी पार्टी केन्द्रीय सदस्य सुर्य बहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका उप–प्रमुख बिणा देवी राई, हलेशी तुवाचुंग् नगरपालिका प्रमुख इवन राई, उप–प्रमुख बिमला राई र खोटाङ जिल्ला अस्पतालका प्रमुख डा. वैभव मल्लिकको सहभागिता रहेको थियो । साथै संस्थाको तर्फबाट उपाध्यक्षहरु भगवती राई, प्रसाद राई, भविन राई र सञ्जिव राई लगायतको सहभागिता रहेको थियो ।

खोसेस यूकेका महासचिव भोला बिक्रम राईले संचालन गरेको कार्यक्रममा जिल्लाबाट सहभागीहरुले आ–आफ्नो विचार राखेका थिए । सहभागीहरुको भनाइ प्रति खोसेसले आफ्नो गाँस काटेर दिएको आर्थिक सहयोगलाई वास्तविक सहयोग चाहिने पिडितहरुसम्म पारदर्शी र न्यायोचित ढंगले पुग्नेमा बिश्वास लिएको जनाएको छ । साथै खोसेसले अन्तक्रिया कार्यक्रमबाट प्राप्त सुझावहरुलाई ग्रहण गर्दै कार्य समितिले छिट्टै नै आवश्यक निर्णयहरु गरी वास्तविक सहयोग चाहिने पिडितसम्म पारदर्शी र न्यायोचित ढंगले सहयोग पुर्याउने प्रतिवद्धता जनाएको छ ।

Advertisement

खोसेस यूकेले नेपालमा पछिल्लो चरणको कोरोना भाइरसकाबाट संक्रमित जिल्लाबासीका लागि सहयोग स्वरुप “अक्सिजन पठाऔं, आफन्तको ज्यान बचाऔं” भन्ने मूल नाराका साथ आर्थिक सहयोग संकलन अभियान आरम्भ गरेको छ । सो अभियान अन्तर्गत हाल २० लाख रुपैयाँ बराबरको स्वास्थ्य सामाग्री जिल्लालाई हस्तान्तरण गर्ने तयारी भइरहेको समाजका विशिष्ट संरक्षक सदस्य एवम् संस्थापक, नेपाली कांग्रेस महासमिती सदस्य रवि प्रकाश राईले बताए । खोसेसले विगतमा पनि जिल्लालाई ७ वटा एम्बुलेन्स प्रदान गरिसकेको छ । र जतिसक्दो चाँडो कोभिड सहयोग पनि गर्ने प्रतिवद्धता संस्थाका अध्यक्ष डा. प्रमोद राईले व्यक्त गरे ।

अभियान अन्तर्गतको पहिलो चरणको योजना अनुसार आर्थिक रकम संकलनमा भएको सकारात्मक साथ सहयोगले अपेक्षाकृत सफलता प्राप्त हुँदै गएकाले खोसेसले आफ्नो गाँस काटेर दिएको आर्थिक सहयोगलाई वास्तविक पिडितहरुसम्म पारदर्शी र न्यायोचित ढंगले पुर्याएर उनीहरुको जीवन रक्षा गर्न ठुलो जिम्मेवारी रहेको जनाएकोे छ ।

कार्यक्रममा विभिन्न क्षेत्रका पत्रकारहरुको समेत सहभागिता रहेको थियो ।