लण्डन । नेप्लिज कम्युनिटी हेज यूकेले नेपालमा विद्यमान कोभिडको दोस्रो लहरको व्यवस्थापन र मुक्तिको लागि एउटा सह्रानीय कार्य गरेको छ । समाजले गत मे २० मा लायन्स क्लब इन्टरन्याशनल ३२५ बी टू मार्फत चितवनका तीन वटा अस्पताललाई स्वास्थ्य सामग्रीहरु हस्तान्तरण गरेको छ ।
अध्यक्ष भरतकुमार श्रेष्ठको नेतृत्वमा र बिशेषगरी उनका कार्यकारी सदस्यहरु मथुरा श्रेष्ठ, चन्द्र श्रेष्ठ र चितवन एड ट्रस्टका (क्याट) यूकेका सल्लाहकार रितेश राज पाण्डेको सकृयतामा १४ लाख ३३ हजार ७३० रुपैयाँ संकलन गरी नेपाल पठाइएको हो ।
गत बिहिबार चितवनको भरतपुर अस्पतालमा आयोजित हस्तान्तरण कार्यक्रममा नेप्लिज कम्युनिटी हेजले पठाएको उक्त रकम बराबरको सामग्रीहरु अस्पताल विकास समितिका अध्यक्ष डा. भोजराज अधिकारीले ग्रहण गरे । उक्त सहयोग रकम चितवनका अन्य दुई अस्पतालहरु बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल र बकुलह रत्ननगर अस्पतालका लागि पनि प्रयोग हुनेछ ।
“हामीले अहिले नेपालमा मुख्य रुपमा अक्सिजन र अक्सिजनसँग सम्बन्धित उपकरण सहयोगका लागि आर्थिक संकलन गरी नेपाल पठाएका थियौं” कोभिड दोस्रो लहरसँगै अधिक संक्रमितलाई अक्सिजनको आवश्यकता परेको महसुस गरेर नै यस्ता उपकरणहरु उपलब्ध गराउन यो अभियान थालिएको क्याट यूकेका सल्लाहकार तथा नेपाली जनसम्पर्क समिति बेलायतका सहमहामन्त्री रितेश राज पाण्डेले नेपाल मामिलालाई बताए ।
तीन दिनमै बेलायतबाट १४ लाख भन्दा बढी संकलन गरी उक्त सहयोग अभियान सफल हुनमा यसको श्रेय दाताहरुलाई नै भएको नेप्लिज कम्युनिटी हेजका अध्यक्ष भरत श्रेष्ठले जनाए ।