काठमाडौँ – गैरआवासीय नेपाली संघ (एनआरएनएं) यूके र बेलायतस्थित स्वीनफल च्यारिटेवल ट्रष्टको सहयोगमा बाग्लुङ्ग अस्पतालमा आइतवार देखि टेलिमेडिसिन सेवा सुरु भएको छ ।
गैरआवासीय नेपाली संघका महासचिव डा. हेम राज शर्माका अनुसार सो सेवामार्फत बाग्लुङ्ग अस्पतालमै रहेर बेलायतका प्रतिष्ठित विशेषज्ञ डाक्टरहरुबाट विरामीहरुले निःशुल्क स्वास्थ्य सेवा लिन सक्ने छन् ।
यसअघि ट्रष्टले विश्वका ७९ देशका तीन सय ६६ अस्पतालमा सात सय विशेषज्ञ मार्फत ती सेवा दिंदै आएको छ ।
अन्तराष्ट्रिय बाग्लुङ्ग समाजको समन्वयमा स्थापना भएको सो सेवा संचलान गर्नको लागि गैरआवासीय नेपाली संघ यूकेकी अध्यक्ष पुनम गुरुङ्ग, संघको केन्द्रीय पार्षद चन्द्र गुरुङ्गले उल्लेख्य भूमिका निर्वाह गरेका थिए ।
अन्तराष्ट्रिय बाग्लुङ्ग समाजका अध्यक्ष एकराज गिरीका अनुसार सो सेवालाई भविष्यमा बागलुङकै अन्य क्षेत्रमा पनि यो सेवा क्रमशस् बिस्तार गर्दै जाने योजना रहेको छ । बाग्लुङ्गमा टेलिमेडिसिन सेवा संचालनको लागि आवश्यक प्रवन्ध गर्न बाग्लुङ्ग नगरपालिकाका मेयर जनक पौडेलले सहयोग गरेका थिए ।
टेलिमेडिसिन भनेको के हो ?
टेलिमेडिसिन स्वास्थ्य सेवाको क्षेत्रहरुमा नयाँ आयाम हो । टेलिमेडिसिन सेवामा मार्फत सूचना तथा प्रविधिको प्रयोगले ग्रामीण र दुर्गम क्षेत्रमा स्वास्थ्य सेवा प्रदान गर्ने गरिन्छ । यो सेवामा विरामीहरुले विश्वभरका स्वास्थ्य सम्बन्धी विज्ञसंग भिडियो वा इलेक्ट्रोनिक माध्यबाट आफ्ना समस्यहरु राख्न सक्ने छन् ।
विरामीहरुको समस्यालाई हेरेर विज्ञ चिकित्सकहरुले उपचारको लागि सुझाव दिने छन् । यो अहिले विश्वका ग्रामीण क्षेत्रमा निकै लोकप्रिय उपचार विधीको रुपमा विस्तार भैरहेको सेवा हो ।