लण्डन – अन्तरर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी) का उपाध्यक्ष मन केसीले संघ विधि विधान र प्रक्रियागत ढंगले चल्न नसकेको बताउँदै एनआरएन विधान मिच्ने संघ भित्र दुर्घटना निम्तिन सक्ने चेतावनी दिएका छन् ।
ग्लोबल नेप्लिज न्युज नेटवर्कले शनिवार आयोजना गरेको भर्चुअल पत्रकार सम्मेलनमा गैर आवासीय नेपाली संघ (एनआरएनए) का पदाधिकारीहरुले वर्तमान नेतृत्वले विधि विधान उल्लघंन गरि एकलौटी ढंगले पेलेर अघि बढे दुर्घटना निम्तिने चेतावनी दिएका दिएका थिए । सम्मेलनमा उपस्थित संघका पदाधिकारीहरुले संघलाई कव्जाको शैलीले नेतृत्वले चलाउदै लगेकाले नसच्चिए दुर्घटनातर्फ जाने चेतावनी दिएका हुन् ।
संघको अन्तरराष्ट्रिय समन्वय परिषद् (आइसीसी) का उपाध्यक्ष मन केसीले संघ विधि विधान र प्रक्रियागत ढंगले चल्न नसकेको बताए । ‘मैले बैठकमा धेरै पटक कुरा राखेको छु । निर्णय प्रक्रिया विधि विधान भन्दा बाहिर गएर गरिंदै आएको छ । यसलाई तत्काल नसच्याउने हो भने दुर्घटनातर्फ संस्था जान्छ,’ उनले भर्चुअल पत्रकार सम्मेलनमा भने, ‘विश्वव्यापी ७२ हजार सदस्य भएका संस्थामा एक व्यक्तिलाई मन लाग्यो भन्दैमा तत्काल विधान परिवर्तन हुंदैन । अहिलेको विधान राम्रो छ । हामी सवैले दिएको सुझाव कार्यान्वयन गरौं । सरसल्लाह गरेर सवैजना अघि बढौं ‘। उपाध्यक्ष केसीले संघका नेतृत्वकर्ताले उठाएका सस्तो लोकप्रियताका एजेण्डाले पंजिकृत सदस्यहरुको डटा व्यापारीलाई विक्री गर्ने खालेको भएकाले तत्काल रोक्नु पर्ने बताए । उनले एनसीसीहरुलाई फ्रि सदस्यताको बारेमा स्वायत्त निर्णय गर्ने अधिकार दिनु पर्नेमा जोड दिए । ‘अनलाईन भोटिङ, फ्रि सदस्यता र फ्रि डेलिगेटसको बारेमा विस्तृत छलफल गरौं,’ उनले जोड दिदै भने ।
संघकी उपाध्यक्ष रवीना थापाले संघका महत्वपुर्ण बैठकमा उठाइएको कुराहरुको सुनवाइ नभएको बताइन । उनले बैठक चल्दा चल्दै निर्णय भएका गलत समाचारहरु नेतृत्वले नै लेख्न लगाएर भ्रम सिर्जना गरेको आरोप नेतृत्व माथि लगाइन । ‘सामाजिक संस्थामा नेतृत्व तहमा बसेका व्यक्तिहरुबाटै अर्काको कुरा नसन्ने प्रवृत्ति हावी भएको छ, उनले भनिन् , नेतृत्वमा बसेका साथीहरुबाट नै कतिपय ठाउँमा महिला माथि भेदभाव गरिएको छ । यसले संघ समावेशी प्रतिनिधित्व चाहदैन भन्ने देखिन्छ,’ उनले भनिन् ।
पूर्व केन्द्रिय उपाध्यक्ष तथा संघका सल्लाहकार कुल आचार्यले नेतृत्वले सल्लाहकारहरुबाट सल्लाह नलिइ मनलाग्दी गर्न थालेपछि बैठकमा भाग नलिएको बताए । उनले संघका एनसीसीहरु स्वायत्त हुनु पर्नेमा जोड दिए । संघका सल्लाहकार आचार्यले गत बर्ष सम्पन्न नवौं सम्मेलनमा भाग लिने प्रतिनिधिहरु सम्मिलित भएर विशेष अधिवेशन गर्दा पारित हुन नसकेका प्रतिवेदनमाथि छलफल हुनु पर्ने जनाए । उनले यस अघिको कार्यकालमा एक दर्जन भन्दा बढी एनसीसीहरुमा एमआईएस सिस्टमको दुरुपयोग भएको भनी उजुरी परेको स्मरण गरे । ‘अहिलेको अवस्थामा नया, नया नारा अगाडी सार्नु भन्दा कोभिडबाट प्रवासका नेपालीलाई जोगाउन संघले भूमिका खेल्न विशेष आग्रह गर्छु,’ उनले भने ।
संघका युरोप क्षेत्रीय संयोजक नारायण आचार्यले संघ गलत दिशामा अगाडी गैरहेको भन्दै संघका निर्णयहरु दबाबका आधारमा, प्रतिक्रियाका आधारमा गरिने र निर्णय नै नभएका कुराहरु आफु निकटका मिडियामा निर्णय भयो भनेर दिने गरिएको जनाए। संघका केही व्यक्तिहरुमा मिलाउने भन्दा पनि जुधाउने प्रवृत्ति रहेको बताए । उनले डिजिटल इजेसनका नाममा संघ कव्जा गर्ने कार्य अघि बढाइएको भन्दै चिन्ता व्यक्त गरे ।
पत्रकार सम्मेलनमा युरोप उपसंयोजक शुक्रराज न्यौपाने र आइसीसी सदस्यहरु: चिन्तामणि सापकोटा, विजय मोक्तान दयानिधि सापकोटा, एनआरएनए युके पुर्वअध्यक्ष योगेन क्षेत्री, अफ्रिका क्षेत्रका रोशन थापा, एनसीसी अस्ट्रियाकी महासचिव भवानी तिवारी, क्यानडाकी विमला सापकोटा लगायतले आआफ्ना धारणा राखेका थिए ।