लन्डन । बेलायतको नेपाली समुदायमा चिरपरिचित समाजसेवी तथा नेपाली वेयलफेयर सोसाइटी यूकेका अध्यक्ष एवं ‘बाचौँ र बचाऔँ’ अभियानका अभियन्ता धन बहादुर सार्कीले पोष्ट अफिस अर्थात हुलाक सेवा खरिद गरेका छन् ।
अल्डरसट, रसमोर बरो काउन्सिल स्थित ‘नर्थ टाउन पोस्ट अफिस’बाट चिठी, डकुमेन्टसहित ३० केजी तौलसम्मका सबै प्रकारका सामान विश्वभर पोष्ट गर्न सकिनेछ । ब्रिटिस पासपोर्ट चेक एन्ड सेन्ड, आइडी भेरिफिकेशन, बैंकिङ कारोबार (एकाउन्ट खोल्न, डिपोजिट/सेभिङ गर्न, पैसा निकाल्न, आइएसए खोल्न, चेक डिपोजिट, क्रेडिट कार्ड , मोर्गेज) आदि सेवा उपलब्ध भएको सार्कीले बताए ।
त्यसैगरी ट्राभलसेवा अन्तर्गत संसारभरका पैसा साट्ने व्यवस्था, पैसा पठाउन वा लिनका लागि मनिग्राम सेवा, पेन्सनको पैसा निकाल्न सकिने, इन्सुरेन्स, बस तथा रेल डिस्काउन्ट पास आदि समेत उपलब्ध छन् । इमर्जेन्सी पोष्ट साँझ ५ बजेसम्म आए भोलिपल्ट बिहान ९ बजे पाइने ‘स्पेसल डेलिभरी’ व्यवस्था समेत भएको सार्कीले बताए ।
यस कार्यालय खरिद गर्ने कार्यमा सहयोग पुर्याउने काउन्सिलर गेयानर अस्टिन, काउन्सिलर किथ डिब्बल, मार्क गिट्टोस विविड़ होम्स अफिसर, रसमोर बरो काउन्सिल अफिसरहरु, राजेन्द्र सुवेदी, चारट्याक्स एसोसियसन एन्ड कम्पनी चार्टर एकाउन्टेन्ट, एनआरएन युके सचिव जित रानाभाट तथा पोस्टमास्टर ह्यारो पोस्ट अफिस लन्डनका सञ्चालक कृष्ण तिवारीलाई सार्कीले विशेष धन्यवाद दिए ।
पोस्ट अफिसको साथमा आउटपोस्ट कफी नामक क्याफे पनि सञ्चालन हुदैछ । उक्त क्याफेलाई बेलायती तथा नेपाली समुदायका मानिसहरुलाई मिटिङ्ग पोइन्ट या भेटघाट गराउने स्थलको रुपमा विकास गरिने तयारी रहेको छ ।
नर्थटाउनमा झन्डै पाँच हजार जनसंख्या बसोबास गर्दछन भने यो बर्षमा बिबिड होम्सले चार सय घरहरु बनाउने योजना गरेको र अझै यहाँ एकहजार भन्दा बढी मानिसहरु थपिने बताइएको छ । यो क्षेत्रलाई नेपालीको ‘बिजनेस हब’ बनाउने सोँच अनुसार अघि बढेको र सबैको साथको अपेक्षा रहेको सार्कीले बताए।
नेपाली वेयलफेयर सोसाइटीमा अध्यक्ष भएसँगै ‘बाँचौ र बचाऔँ’ अभियान मार्फत नेपालका २१ ठाँउमा कोरोना महामारी र बाढीपहिरो पीडितलाई राहत बितरणको नेतृत्व गरेका उनी बेलायतमा समाजसेवाको उच्च पंक्तिमा आफुलाई उभ्याउन सफल भएका छन् ।
एनआरएनएयुकेका सदस्य समेत रहेका उनले आफ्नो जीवन नै समाजसेवाको निम्ती समर्पित गरेको बताउने गरेका छन् । नेपालको गार्खा जिल्लामा जन्मेर चितवन बसाइसरेका उनी पूर्व गोर्खा ब्रिटिस सैनिक हुन् ।
‘जीवनमा आफूले कमाएको थोरै अंश भएपनि समाज र दुखी गरिबको निम्ती खर्च गर्नुपर्छ यसैमा भलो हुन्छ भन्ने मान्यता मेरो छ’, उनी भन्छन्, ‘भगवान खोज्न मन्दिर गएर हुँदैन दुःखमा परेका मानिसको पेट भर्न सक्नुपर्छ।’
विगत दुई दशक देखी बेलायतमा बसिरहेका सार्कीलाई समाजसेवा, जागिर र व्यवसायलाई एकसाथ व्यवस्थापन गर्न टेक्नोलोजीले सहज भएको र पोष्ट अफिसलाई सञ्चालन गर्न स्टाफ पनि तयार गरिसकेको बताए ।
अन्त्यमा उनले थपे, ‘समाजसेवा मेरो काम मात्र होइन, मेरो प्यासन हो, दायित्व हो र सपना हो । र सपनाबाट म कहिल्यै पनि विचलित हुनेछैन । यसपछि समाजसेवा गर्न म थप उर्जा सहित अघि बढ्ने छु, यो पोष्ट अफिस व्यवसायलाई पनि समाजसेवाकै एक पार्टको रुपमा जोड्ने मेरो योजना छ।’