काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरेको छ । सोमबार बसेको पदाधिकारी बैठकले भिजिट भिसा प्रकरणमा जोडिएका गृहमन्त्री लेखकले राजीनामा नदिने हो भने राज्यको साख गिर्दै जाने निष्कर्ष निकालेको हो ।
निष्पक्ष छानविनका लागि गृहमन्त्रीले राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने माओवादीको भनाइ छ । बैठकको निर्णय सुनाउँदै माओवादी केन्द्रका उपाध्यक्ष एवं अग्नि सापकोटाले भने, ‘अध्यागमनमार्फत नेपालीलाई भिजिट भिसामा विदेश पठाउने कार्यमा गृहमन्त्रालयका कर्मचारीहरु जोडिएका छन् । सबैतिरबाट चौतर्फी आवाज आइरहेको छ । नैतिकताको आधारमा राजीनामा दिनुपर्छ । कांग्रेस पार्टीका नेतालेसमेत राजीनामा मागेका छन् । पार्टीको आजको बैठकले पनि के निष्कर्ष निकालेको छ भने अब गृहमन्त्री रमेश लेखकले राजीनामा दिएर, राज्यका निकायले छानविन सुरु गरिसकेको छ । यस्तो अवस्थामा राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ,’ उनले थपे, ‘ता कि पहुँच, प्रभाव र पावर प्रयोग हुन नपाओस् । स्वतन्त्र, निष्पक्ष छानविनका लागि उहाँले मार्ग प्रशस्त गर्नुपर्छ भनेर हाम्रो पार्टीले निष्कर्ष निकालेको छ । अब तुरुन्त गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्छ । जति ढिला भयो उती साख गिर्दै जान्छ भन्ने हाम्रो निष्कर्ष छ ।’
भिजिट भिसामा विदेश पठाउनेहरुसँग रकम असुली गरेको आरोपमा पक्राउ परेका अध्यागमनका प्रमुख तीर्थराज भट्टराईले उक्त पैसा गृहमन्त्रीसमेतलाई बुझाउने गरेको बयान दिएपछि अहिले रमेश लेखकको चौतर्फ आलोचना भइरहेको छ ।
।




