काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट निर्वाचित प्रतिनिधि सभा सदस्यहरूविरुद्ध राजद्रोहसम्बन्धी जाहेरी परेको छ । सांसदहरू डोलप्रसाद अर्याल, डा. स्वर्णिम वाग्ले, हरि ढकाल, विराजभक्त श्रेष्ठ, सुमना श्रेष्ठ, डा. तोसिमा कार्की, गणेश पराजुली, मनिष झा र सन्तोष परियारविरुद्ध जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाडौंमा युवराज पौडेल ‘सफल’ ले जाहेरी दिएका हुन् ।
सहकारी ठगीसम्बन्धी छानविन गर्न बनेको संसदीय विशेष समितिको सिफारिसमा रास्वपा सभापति रवि लामिछाने पक्राउ परेपछि उनीहरुले सरकार र अदालतले गर्ने काम कारबाहीमा अवरोध गरेको, सरकारले गरिरहेको अनुसन्धानमा भाँजो हालेर प्रभावित पार्न खोजेको, लामिछानेको पक्राउविरुद्ध आन्दोलनमा उपस्थित हुन उर्दी जारी गरेको, अनुसन्धानलाई निष्प्रभावी बनाउन खोजेको जाहेरवालाको दाबी छ ।
उनीहरुले मुलुकी अपराध संहिता–२०७४ को दफा ५० राजद्रोहसम्बन्धी व्यवस्थाको उपदफा ३ बमोजिम कसुर गरेकाले सोही दफाको उपदफा ४ बमोजिम ३ वर्ष कैद र ३० हजार रुपैयाँ जरिवाना मागदाबी गरिएको छ ।