काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सरकारमा ४ महिना बस्दा देश कसले चलाउँछ भन्ने कुरा राम्रोसँग जानकारी मिलेको बताएका छन् । बिहीवार पार्टीको नीति मन्थनबारे सम्बोधन गर्दै उनले कुन शक्तिबाट देश चल्छ भन्ने कुरा राम्रोसँग बुझ्न पाएको बताएका हुन् ।
सभापति लामिछानेले भने, ‘हामी त केही सिक्नु थियो । हामीले त केही गर्नु थियो । हामी त हेर्नु थियो । सिंहदरबार कसरी चलाउने भन्नेकुरा जान्नका लागि सिंहदरबार कसरी चल्दैछ भन्नेकुरा हेर्नैपर्छ । जति गाली खाएर भएपनि केही समय सरकारमा जानु नै थियो । अहिले जुन चार महिनाको अवधि हामीले सरकारमा बस्यौँ, यो अवधिले अब चाहीँ हामीलाई धेरै कुरा बुझ्न सहयोग मिलेको छ । अब पद र गोपनियताको शपथ खाएका छौँ, सबैकुरा सार्वजनिक गर्न त मिल्दैन । तर देश कसले चलाएको रहेछ भन्नेकुरा राम्रो सँग थाहा पायौँ । यो ठूलो पाठ सिकेका छौँ । यसबाट राज्यलाई घाटा लगाएका छैनौँ ।’
गोपनियताको शपथ ग्रहण गरेकाले सबैकुरा भन्न नमिल्ने भन्दै सरकारमा बस्दा कुन शक्ति हाबी हुन्छ र कुन शक्तिबाट सरकार चलेको छ भन्ने कुराको जानकारी पाएको उनले बताए ।
उनले नयाँ राजनीतिक दल भएर किन सरकारमा गएको ? भन्ने प्रश्नहरु आएको भन्दै सरकारमा गएर नै सरकार भित्रका गल्तीहरु बुझ्ने बताए ।
उनले पुराना राजनीतिक दलहरुसँग सँगै उभिँदा गल्ती केही नगरे पनि गाली मात्रै खाएको बताए ।
उनले २१ जना भ्रष्टहरुलाई संसदमा जान रोकेर आफूहरुले राम्रा मान्छे ल्याएको दाबी गरे । उनले भने, ‘नयाँ राजनीतिक दल भएर सरकारमा किन गएको ? भन्छन् । सरकारमा किन गएको भनेको भन्यै छन् । पुराना राजनीतिक दलहरुसँग सँगै उभिँदाखेरी गल्ती केही नगर्दा पनि गाली खाने बाहेक केही काम भएन ।’