काठमाडौं । केपी शर्मा ओली नेतृत्वको सरकारको समावेशिताको नीतिप्रति प्रतिपक्ष राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रश्न उठाएको छ । रास्वपाकी सांसद सोबिता गौतमले प्रतिनिधिसभाको सोमबारको बैठकमा मन्त्रिपरिषद्मा न्यून संख्यामा महिलाको उपस्थिति र दलित समुदायको शून्यताप्रति प्रश्न उठाएकी हुन् ।
कांग्रेस र एमालेको सहमतिअनुसार गठन भएको ओली नेतृत्वको सरकारमा दुईजना मात्रै महिला मन्त्री छन् भने दलित समुदायको एकजना पनि मन्त्री सहभागी गरिएको छैन । रास्वपाले सोही विषयलाई लिएर संसद्मा पहिलो दिन नै प्रश्न उठाएको हो ।
उनले भनिन्, ‘नवगठित सरकारले समावेशितालाई हेर्ने दृष्टिकोण के हो ? योबारे पनि हामी जिज्ञासा राख्न चाहन्छौं । किनकी अहिलेको मन्त्रिपरिपषद्को स्वरुप हेर्दा संविधानले सुनिश्चित गरेको महिलाको प्रतिनिधित्व त्यहाँ देखिएको छैन । दलितको प्रतिनिधित्व त्यहाँ शून्य छ । समावेशितालाई कसरी हेरेको छ सरकारले ?’
त्यस्तै, आफूले व्यवसाय गरिरहेको क्षेत्र पर्ने र मन्त्रालयको जिम्मेवारीसँग बाझिने सांसदलाई मन्त्री दिएको भन्दै सांसद गौतमले प्रश्न उठाएकी हुन् । उनका प्रश्न छ, ‘स्वार्थको द्वन्द्वप्रति कत्तिको संवेदनशील भएको छ सरकार ? मन्त्रीले आफ्नो व्यवसाय मिल्ने प्राधिकार ग्रहण गर्न मिल्ने कि नमिल्ने ? सरकारले यो विषयमा पनि हामीलाई जानकारी दिनुपर्ने हुन्छ ।’
सांसद गौतमले कांग्रेस र एमालेबीचको सहमतिको पारदर्शिताबारे पनि प्रश्न उठाएकी छन् । असार १७ गते राति भएको कांग्रेस र एमालेको सहमति अझैसम्म पनि सार्वजनिक नभएको अवस्थाप्रति उनले प्रश्न गरेकी हुन् ।
‘मध्यरातमा दुई ठूला दलहरूले सम्झौता गरेर पुरानो सरकार ढलेर नयाँ सरकार गठन भएको छ । राजनीतिक सिद्धान्तमा दुई ध्रुवमा बाँडिएका दलहरू एकै ठाउँमा उभिएर सरकार गठन भएको छ, यो सामान्य कुरा होइन । यो सम्झौता किन र कसरी भयो ? त्यो सम्झौता पारदर्शी गरियोस्, जनता र नागरिकलाई सुसूचित गरियोस्’, उनले भनिन् ।