काठमाडौं । राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले सहकारी ठगी प्रकरणको छानबिन गर्न गठित संसदीय समितिले दोषी किटान गर्ने कुरामा आशंका रहेको बताएका छन् ।
आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले भने, ‘जब समस्या आउँछ, केही दिन छलफल हुन्छ, जनताले आन्दोलन गर्छन्, र तयो समस्या समाधान गर्ने नाममा समिति बन्छ ।’
उनले यसपटक र संसदीय छानबिन समिति बनाउनुपर्छ भन्दा राज्यको जिम्मेवार ठाउँमा बसेको व्यक्तिले तिमीहरु पनि फलानो काण्डमा जोडिएका छौ भन्नेजस्तो लाजमर्दो काम गरेको बताए ।
उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन गठन गर्न सत्ता गठबन्धन तयार नभएको प्रति इंगित गर्दै उनले भने, ‘यो समिति पनि माछो माछो भ्यागुतो गराउँछन् भन्ने कुरा सहकारीबाट ठगिएका जनताले बुझिरहेका छन् ।पहिलेका सहकारी ठगहरुलाई जसरी जोगाउने काम भयो अहिले पनि सरकार जोगाउने नाममा सहकारीमा किटानी साथ नेपाली जनताले संसदमा उठाएको आवाज दबाउने हो भने यो गणतन्त्र यो लोकतन्त्रको कुनै औचित्य हुँदैन ।’
सहकारीको रकम हिनामिना गर्नेमा सर्वसाधारण नभई सांसद र मन्त्रीहरु नै जोडिएको केसीले बताए । उनले भने, ‘सहकारीको रकम हिनामिना गर्नेमा सर्वसाधारण होइन राज्यसत्तामा विराजमान हुने, तिनको संरक्षणबाट, तिनको दलालबाट, कतिपय अवस्थामा सांसद, मन्त्री भइसकेका, उच्च तहमा भइसकेकाहरु सहकारी सञ्चालन गर्ने जनताको हिनामिना गर्नेमा संलग्न छन् ।’ उनले सहकारीको रकम हिनामिना गर्नेलाई कारबाही होइन, राज्य सत्ताको निर्णायक ठाउँमा बस्नेहरुले जोगाउने गरेको बताए ।