November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

देउवाको प्रश्नमा ओलीको जवाफ-“मेरा पुरानो मित्र हुनुहुन्छ, घरीघरी जोशिनुहुन्छ”

1.2K

काठमाडौं। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको प्रश्नको जवाफ ठट्यौली पारामा दिएका छन् ।

सोमबार ललितपुरको गोदावरीमा नेकपा स्थापनाको हीरक महोत्सवका अवसरमा आयोजित कार्यक्रममा बोल्ने क्रममा सभापति देउवाले एमालेले कांग्रेसलाई गाली गर्ने गरेको भन्दै ‘मदन भण्डारी मारेको कुरा किन भन्न सक्दैन ?  कसले रोकेको छ खोज्नलाई ? कांग्रेसले रोक्या हो ? आफू खोज्न नसक्ने कांग्रेसलाई गाली गरेर हिँड्ने ?’ भन्ने प्रश्न गरेका थिए ।

देउवाको प्रश्नलाई छल्दै ओलीले भने, ‘मेरा पुरानो मित्र हुनुहुन्छ । घरीघरी जोशिनुहुन्छ।’

Advertisement

कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा ओलीले कम्युनिस्ट पार्टीहरूबीच वर्तमान अवस्थामा एकताभन्दा पनि सहकार्यको खाँचो भएको बताए । अहिले कम्युनिस्ट पार्टीबीच एकता भन्यो भने विगतमा किन फुटेको भन्ने प्रश्न स्वाभाविक रुपमा उठ्नसक्ने उनले बताए । ‘अहिले हामी सहकार्यको माध्यमबाट निकट हुँदै जान्छौं । सहकार्यको माध्यमबाट अगाडि बढ्छौं र क्रमशः एकताको बाटोमा पुग्न सक्छौं’, उनले भने, ‘त्यस बिन्दुमा पुग्न सक्छौं तर अहिले नै एकीकरण गरौं, सबै देशभरकाका मिलौं भन्ने हो भने फुट्या किन थियौं ? के भएर फुट्या थियौं ? यस्ता प्रश्नहरू उठ्छन् ।’

ओलीले कम्युनिस्ट पार्टीहरूबीच तत्काल एकता गर्नु दीर्घकालीन नहुने बताए । उनले भने, ‘अहिले तत्काल पार्टी एकीकरण भइहाल्छ, यो एउटा व्यक्तिगत तुष्टिको विषय हुनसक्छ । यसले फेरि आन्दोलनमा अरु प्रकारका समस्या पैदा गर्न सक्छन् । अहिले ठ्याक्कै वामपन्थी मात्रै मिलेर अगाडि बढ्ने अवस्था होइन ।’

ओलीले कम्युनिष्ट पार्टी स्थापनादेखि ०१७ सालको राजनीतिक परिवर्तन, २०५२ सालमा माओवादीले सुरु गरेको सशस्त्र विद्रोह, राजतन्त्रको अन्त्य, दरबार हत्याकाण्डलगायतका महत्वपूर्ण घटनाहरुको स्मरणसमेत गरेका थिए ।