May 1, 2024, Wednesday
२०८१ बैशाख १९
1:37:26 pm

वाम एकता गर्ने कुरामा पार्टी हतारिने पक्षमा छैन: एमाले उपमहासचिव ज्ञवाली

२०८० फाल्गुन २४

700

काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले वाम एकता गर्ने कुरामा पार्टी हतारिने पक्षमा नरहेको बताए । कार्यकर्ता तहमै भावनात्मक एकता नभएसम्म गरिएको एकता नटिक्ने विगतको अनुभव रहेको दृष्टान्त प्रस्तुत गर्दै उनले अहिले वामपन्थी एकता, सहकार्य, पार्टी एकता लगायतका विषयमा कुनैपनि छलफल नभएको बताएका हुन् ।

प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ सत्ता समीकरणलाई वामपन्थी एकताको सुरुवातको रुपमा चित्रण गरिरहेका बेला महासचिव ज्ञवालीले भने त्यसमा हतार गरिहाल्ने अवस्था नरहेको बताएका हुन् । आफ्नो पार्टी सरकारमार्फत व्यवस्थामाथि परेको संकट र जनतामा बढेको निराशालाई चिर्ने कुरामा केन्द्रित रहेको उनको भनाई छ ।

अहिले त हामी यो संसद भित्रबाट राजनीतिक स्थायित्व दिने कुरामा केन्द्रित छौं । त्यहाँ चाहे नेकपा (माओवादी केन्द्र)सँग होस, नेकपा एससँगको कुरा होस् । किनभने हिजो हामीले चाहे गरेको एकता बडो सदासहायतापूर्वक गरेका थियौँ । अत्यन्त उत्साहित पनि थियौ । तर टिकेन । त्यसो भएको हुनाले विगतका पाठहरूलाई हेर्दै तल उपयुक्त वातावरण नबनीकन, कार्यकर्ता तहमै त्यसले भावनात्मक रुपमा एकता नभईकन माथिको जोडघटाउबाट बनेको एकता चाहिँ टिक्दो रहेनछ भन्ने कुरा यहाँनिर देखिएको छ । त्यसले गर्दाखेरी अहिले हामी त्यसमा हतारिँदैनौँ । सरकार बलियो बनाऊ, सरकार टिकाउ, सरकारबाट डेलिभरी दिऊ । दलहरूका बिचमा केही नीतिगत भिन्नताहरू छन् । केही भावनात्मक भिन्नताहरू छन् केही शैलीगत भिन्नताहरू छन् । त्यसमा स्वस्थ बहस चलाउँदै जाऊँ । र त्यो कामले बिस्तारैबिस्तारै एउटा भावनात्मक एकता बनाउँदै लग्यो, भावनात्मक रुपमा निकटता ल्याउँदै ग–यो भने सुदूर भविष्यको कुरालाई हामीले इन्कार गर्न सकिँदैन । हामी त सदैव हाम्रो देशमा मूलतः दुई वटा पार्टी बनुन् । एउटा सेन्टर टु राइट होस्, एउटा सेन्टर टु लेफ्ट होस् । र, एउटा स्थिर राजनीतितिर मुलुक अगाडि बढोस् भन्ने पक्षमा छौं । ढिलो चाँडो मुलुक राजनीतिक ध्रुवीकरणतिर जानैपर्ने हुन्छ । र, त्यो ध्रुवीकरणको एउटाको नेतृत्वको निःसन्देह एमालेले गर्ने हो । अर्को ध्रुवको नेतृत्व काँग्रेसले गर्ने हो । तर अहिले हामी त्यो वामपन्थी एकता, सहकार्य, पार्टी एकता त्यसको कुनैपनि विषयमा छलफल गरिरहेका छैनौँ । अहिले चाहिँ एउटा वैकल्पिक सरकार बनाउने र सरकारको तहबाट डेलिभरी दिएर अहिले प्रणालीमा आइरहेको संकट र जनतामा बढेको निराशालाई चिर्ने कुरामा हाम्रो सम्पूर्ण फोकस त्यहाँनेर छ”, उपमहासचिव ज्ञवालीले भने ।

Advertisement