ललितपुर । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले पहिचानका आधारमा प्रदेशहरुको पुनः नामाकरण हुनुपर्ने माग गरेका छन् । शनिबार ललितपुरको महालक्ष्मीस्थानमा समाजवादी तामाङ संघले आयोजना गरेको नयाँ वर्ष सोनम् ल्होछार कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशव्यापी जनताको मागलाई बेवास्ता गरी सरकारले पहाड नदी खोला नालाको नाममा प्रदेशको नामाकरण गरेकोमा असन्तुष्टि व्यक्त गरका हुन् ।
आज (शनिबार) ललितपुरको महालक्ष्मीस्थानमा समाजवादी तामाङ संघले आयोजना गरेको नयाँ वर्ष सोनम् ल्होछार कार्यक्रमलाई सम्बोधन गर्दै पहिचानका आधारमा प्रदेशलाई नामाकरण गर्न सरकारले ढिलाई गर्न नहुने बताए । उनले भने, ‘जनताको माग एकातिर छ, तत्कालीन सरकारले खोलानालाको नाममा प्रदेशको नामाकरण गर्यो, त्यो हामीलाई मान्य छैन ।, नामाकरणको बिषयमा मधेश प्रदेश बाहेक सबै प्रदेशमा चरम असन्तुष्टि छ, सरकारले यसलाई समय छँदै सम्बोधन गर्नुपर्छ ।’
अध्यक्ष यादवले मधेशबाहेक बाकी ६ वटै प्रदेशमा पहिचान आधारित पुनः नामाकरणको आन्दोलनले बिष्फोटक रुप लिनसक्ने दाबी गरे । मधेशका जनताको ठूलो संघर्ष र बलिदानीले मात्रै सो प्रदेशको नाम मधेश प्रदेश सम्भव भएको स्मरण गर्दै उनले पहिचानको मागलाई बेवास्ता नगर्न सरकारलाई सचेत गराए ।
उनले मधेशी, आदिवासी जनजाति, दलित, सीमान्तकृत जनताले अधिकार र पहिचानका लागि संयुक्त रुपमा संघर्ष गर्नुपर्नेमा जोड दिए । उनले भने, ‘एक्लै लडेर हुँदैन, अधिकार प्राप्तिका लागि सबै उपेक्षित जनता एक ठाउँमा उभिनुपर्छ ।’