काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले कांग्रेसका मन्त्रीहरूले जनतामा आशा जगाउने गरी काम गर्न नसकेको बताए । पार्टीले गठबन्धनको सरकार जोगाउनुमात्रै ठूलो कुरा नभएको बताउदै सरकारमा बसेर जनतामा आशा जगाउने गरी डेलिभेरी पनि दिनसक्नुपर्ने बताएका हुन् ।
आइतबार केन्द्रीय कार्यसमितिको बैठकमा बोल्दै नेता पौडेलले भने, ‘सरकारमा हुनु, गठबन्धन बचाउनुमात्रै ठूलो कुरा होइन । सरकारमा बसेर जनतामा आशा पनि जगाउन सक्नुपर्छ । आज हाम्रै पार्टीको साथी सरकारमा मन्त्री हुनुहुन्छ, तर कसैले एउटा पनि उदाहरणीय काम गर्न सकेको अवस्था छैन, जसको हामी कार्यकर्ताले खुलेर प्रशंसा गर्न सकौँ ।’
नेता पौडेलले पार्टीकै मन्त्रीले अर्थमन्त्रालयको जिम्मेवारी सम्हालिरहेको भएपनि मुलुकको अर्थतन्त्र डामाडोल हुँदा केही गर्न नसकेको आरोप लगाए । उनले भने, ‘अर्थ मन्त्रालय हाम्रै नेतृत्वमा छ, तर अर्थतन्त्रमा सुधार आइरहेको छैन । यस्तो बेला हामीले कसलाई प्रश्न गर्ने हो ? कि जवाफ दिनुपर्ने हो ? अर्थतन्त्र डामाडोल भएको छ, सुधारको पहल गर्न सकेको देखिएन । साना व्यवसायीहरू सटर बन्द गरेर हिड्न बाध्य छन् । सभापतिज्यू, बैंकमा पैसा नभएर लगानी गर्न नपाउनुभन्दा बैंकमा पैसा थन्किएर लगानी गर्न नसक्नु ठूलो समस्या हो ।’