हेटौंडा । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सरकारलाई सडक र सदन दुवै स्थानबाट दबाब दिनुपर्ने बताए । आइतबार समाजवादी मोर्चाले हेटौंडामा आयोजना गरेको सन्देश सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले त्यसकारण पनि आफूहरुले समाजवादी मोर्चा बनाएका बताएका हुन् ।
‘हामी सरकारलाई दुवै स्थानबाट दबाब दिन्छौँ’, उनले भने । सरकारलाई सदन र सडक तिनबटै मोर्चामा रहेर काम गर्ने उनको भनाई थियो ।
पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले सत्ताबाहेक मोर्चाको उद्देश्य छैन भन्नु गलत रहेको बताउँदै भने, ‘हामी मिसन समाजवादमा पुग्ने उद्देश्यमा थियौं । हाम्रो सिद्धान्त र आदर्श समाजवाद हो । सरकार, सडक र सदन तीनवटै मोर्चामा हामी हुनेछौँ ।’
भ्रष्टाचारमुक्त, विकासको सुरुवात र राष्ट्रिय अखण्डताको पक्षमा मोर्चाले काम गर्ने भन्दै अध्यक्ष नेपालले संविधानको पूर्ण कार्यान्वयनका लागि मोर्चाले काम गर्ने पनि बताए ।