September 22, 2023, Friday
२०८० आश्विन ५
1:37:26 pm

सातै प्रदेशमा प्रदेश स्तरीय घोषणा सभाहरू गर्ने समाजवादी मोर्चाको निर्णय

385

काठमाडौं । समाजवादी मोर्चा नेपालले सातै प्रदेशमा प्रदेश स्तरीय घोषणा सभाहरू गर्ने निर्णय गरेको छ । सोमबार नेकपा एकीकृत समाजवादीको मुख्यालयमा बसेको मोर्चाको तेस्रो बैठकले यस्तो निर्णय गरेको हो ।

मोर्चाले ८ गते मधेस प्रदेशको वीरगन्जमा, १२ गते लुम्बिनीको बुटवलमा, १३ गते सुदूपश्चिमको धनगढीमा, १४ गते कर्णालीको सुर्खेतमा, १५ गते गण्डकीको पोखरामा, २३ गते बागमतीको हेटौँडामा, २५ गते कोशीको विराटनगरमा सभाहरू गर्ने निर्णय गरेको छ । सोही घोषणासभाबाट प्रदेश मोर्चाको गठन गरिने पनि जनाइएको छ ।

बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै नेकपाका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ ले आजको बैठकपछि समाजवादी मोर्चाबारे सिर्जना भएका विभिन्न आशङ्काहरू आजदेखि अन्त्य भएको बताए । चन्दले भने, ‘एउटा तरङ्गमय माहौलमा मोर्चा घोषणा भएको थियो । तर, लामो समय बैठक बस्न नसक्दा बाहिर के हो–हो भन्ने भएको थियो । आज त्यो अन्त्य भएको छ ।’

Advertisement

आजको बैठकमा तीनवटा एजेन्डामा छलफलहरू भएका थिए । जसमा समसामयिक राजनीति, सातै प्रदेशमा घोषणा सभा र मोर्चाको सचिवालयले गरेका निर्णयहरू अनुमोदन गर्ने रहेको थियो । विप्लवका अनुसार आजको बैठकले भ्रष्टाचार विरोधी आन्दोलनलाई समर्थन गर्ने निर्णय पनि गरिएको छ ।