काठमाडौं । एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले विचार बिनाका पार्टीहरुको लहर चलेको बताए । मदन भण्डारीको ७२ औं जन्मजयन्तीको अवसरमा बिहीबार आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले विचार नचाहिने पार्टीहरुको लहर चलेको बताएका हुन् ।
राजनीतिक पार्टीहरु समाजलाई कसरी अघि बढाउने भन्ने विचार बोकेर अघि बढ्ने भए पनि अहिले अहिलेका पार्टीहरूमा विचार नचाहिने बताए । उनले भने, ‘राजनीतिक पार्टीहरु समाजलाई कसरी अघि बढाउने भन्ने विचार बोकेर अघि बढ्छन् । अहिले एउटा लहर चलेको छ, विचार नचाहिने, बिनाविचार विचार लिएर हामी आयौँ भन्ने लहर चलेको छ ।’
ओलीले राजनीतिक दल र नेताहरुले गरेको योगदानको चर्चा र स्मरण गर्न नसकिएको साथै आफ्ना अभिभावकको योगदानको कदर गर्ने परिपाटीको अन्त्य हुँदै गएको गुनासो गरे । उनले भने, ‘योगदान बिर्सिए हुन्छ, कसलाई फुर्सद छ योगदानका कुरा गर्ने ? कसलाई फुर्सद छ हाम्रा पूर्वजका योगदान सम्झिने, आफ्ना आमाबाबुको योगदानको चर्चा गर्ने ? महिमा गाउने वा आमाबुबाप्रति कृतज्ञ हुने ? भन्ने खालका विचाहरु पनि आज सुनिन्छन् ।’
बिनाइतिहास समाज यहाँ आइनपुगेको र धेरै उत्तारचढावबाट समाज यहाँसम्म आइपुगेको उनको भनाइ थियो । उनले थपे, ‘आज पनि समाज अनेक प्रकारका रस्साकस्सीका बीचबाट अघि बढेको छ । यस रस्साकस्सी बीचबाट समाज कसरी अघि बढाउने भन्ने सन्दर्भमा नेपालको प्रसंगमा प्रमुख रुपमा ३ वटा विचार प्रवृत्तिहरू रहे।’




