काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सुनैसुनले ढाकिएको देखिने गरी आफ्नो फोटो इडिट गरिनु झुटको पराकाष्ठा भएको बताएका छन् । सामाजिक सञ्जालमा ट्रोल गरिएको उनको तस्विरले झुटको पराकाष्ठा भएको बताएका हुन् ।
बुधबार च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा पार्टी प्रवेश गरेका कलाकारहरुलाई स्वागत गर्दै अध्यक्ष ओलीले औंठी लगाउने रुचि समेत नभएको मान्छेलाई जिउभरि सुनैसुनले ढाकेको फोटो बनाएर झुटको खेती गरेको बताए ।
‘आमा बित्नुभएपछि आमाको औंठी ४ दिनसम्म लगाएको थिएँ । त्यसले मलाई झनै आमाको सम्झना दिलायो । एउटा साथीले दिएको औंठी दिएको साँझसम्म लगाएँ । त्यसबाहेक मैले औँठी सिक्री लगाएको छैन । लगाउदिनँ । जसले सुनको औंठी पनि लगाउँदैन । सानोमा मुन्द्रा लगाएको थियो, त्यो पछि खोलियो । अहिले त बोक्न नसक्ने गरी सुन लगाइदिएछन् । यति साह्रो झुटको खेती गर्नेको नियत कस्तो घटिया होला ?’, ओलीले भने ।
यसरी सत्य छोप्ने र झुट फैल्याउने तहमा नेपालीहरु पुगेको उनले बताए । उनले भने, ‘हाम्रो शिक्षा भनेको साचो बोल भन्ने हो, तर त्यस्तो ठाउँमा जति झुटको खेती गर्न पायो, अर्कालाई दुःख दिन पायो, त्यति आनन्द लिने । अर्कालाई पीडा आएर आनन्द लिने परपीडकहरुको प्रभाव बड्दो छ ।