काठमाडौं । नेपाल सांस्कृतिक संघको केन्द्रीय सदस्य गायक मोहन राई ‘दुखुन’ नेपाली कांग्रेस इलामको आमन्त्रित सदस्यमा मनोनित भएका छन् । कांग्रेस इलाम सभापति डम्बर बहादुर खड्काले आइतबार राईलाई जिल्ला कार्य समितिको आमन्त्रित सदस्यमा मनोनित गरेका हुन् ।
कलाकारिता क्षेत्रमार्फत लोकतन्त्रको प्रवद्र्धन र सम्बद्र्धन साथै नेपाली सांस्कृतिक क्षेत्रको उत्थानमा क्रियाशील रहेको जनाउँदै गत बर्ष संघका अध्यक्ष तीर्थ थापाले राईलाई केन्द्रीय सदस्यमा मनोनित गरेका थिए । राईले गत बर्ष २८ जना कलाकारलाई सामूहिक रुपमा कांग्रेसमा प्रवेश गराउँदै एमाले परित्याग गरेका थिए । राईकै नेतृत्वमा पार्टी सभापति शेर बहादुर देउवाको हातबाट फुलमाला अविर लगाएर कलाकारहरु कांग्रेसमा प्रवेश गरेका थिए ।
रोङ गाउँपालिका ३ निवासी राई नेकपा एमालेमा रहँदा पूर्वप्रधानमन्त्री झलनाथ खनाल निकट रहेर एमालेको संगठन विस्तारमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । नेपालका ‘हेभिवेट’ नेता तथा उच्च ओहोदाका सरकारी कर्मचारीहरूले रचना गरेका गीतहरू गाएर चर्चा कमाएका गायक राई राष्ट्रिय भाव र मायाप्रेमका गीतहरू गाउँदै आएका छन् ।
‘कस्तो सपना’ र ‘मायाको खेल’ गीति एल्बम बजारमा ल्याइसकेका छन् भने नयाँ एल्बम बिमोचनको अन्तिम तयारीमा जुटेका छन् । उनले आफ्नो एल्बम ‘कस्तो सपना’को शीतल निवासमै एक भब्य समारोहबीच नेपालका प्रथम राष्ट्रपति डा। रामवरण यादवबाट २०७१ सालमा विमोचनसमेत गराएका थिए । उनी राष्ट्रपति विद्यादेवी भण्डारीबाट जनसेवाश्री राष्ट्रिय पदकबाट पनि विभूषित भएका थिए ।
पूर्वप्रधानमन्त्री झलनाथ खनाल र सिक्किमका पूर्वमुख्यमन्त्री पवन चाम्लिङ, व्याकुल माइला, प्रदीप ज्ञवाली, नवराज सिलवाल, दिनेश थपलिया, मुकेश राई, मनु लोहारुङ राई, राजा घले, दिपेन्द्र शर्मालगायतले रचना गरेका गीतहरूमा मोहनले स्वर भरिसकेका छन् ।




